काठमाडौँ / सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले अघिल्लो वर्ष २०८०/८१ को तुलनामा गत सानिमा बैंकले ७.२५ प्रतिशत बढी नाफा कमाएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जबकि अघिल्लो वर्षको सोही अवधिमा यो रकम २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सामान्य वृद्धि भए पनि इम्पेरमेन्ट चार्ज बढ्दा नाफामा उल्लेखनीय सुधार भने हुन सकेन ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.८२ प्रतिशत बढी हो ।
त्यस्तै, सञ्चालन मुनाफा पनि २.९७ प्रतिशतले वृद्धि भई ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ पुगेको छ। तर, इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको १ अर्ब ४३ करोड ३३ लाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणमा उल्लेख छ।
यस अवधिमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा अनुपात भने अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकको यस्तो कर्जा १.५१ प्रतिशतले बढेर ३.०१ प्रतिशत पुगेको हो ।
त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा र मूल्य–आम्दानी अनुपात १९.८० गुणा रहेको छ।
असार मसान्तसम्ममा बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७६ अर्ब ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ, रिर्टन्ड अर्निङ २ अर्ब ७८ करोड रुपैयाँ तथा जगेडा कोषमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ रहेको छ।