काठमाडौँ / कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत वैशाख २१ गते देखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए ।
त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ ।
यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।
आइभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।