काठमाडौँ / एनआईएमबि र एनसीएचएलबिच एनपिएस-एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्वीच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरू एनपिएस–एनसिएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् ।
नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एनआईएमबिले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्वीचको रूपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम् उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
एनपिएस–एनसिएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाईँमा पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी वाणिज्य बैंकहरू मध्ये एक, एनआईएमबीले आफ्नै कार्ड स्वीच पूर्वाधार सञ्चालन गर्दै आएको छ । यस पूर्वाधारमार्फत, बैंकले ३ वाणिज्य बैंक, ५ विकास बैंक र १ वित्त कम्पनीसहितका आफ्ना सहायक सदस्य बैंकहरूलाई कार्ड स्विचिङ तथा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको छ ।
एनआईएमबीको स्वीच एनपिएस-एनसिएसमा जोडिएपछि, ती सदस्य बैंकहरू पनि स्वतः प्रणालीमा आबद्ध हुनेछन् र नेपाल पे कार्ड इस्यू र अक्वायर गर्न सक्षम हुनेछन् ।
एनआईएमबिले देशभरी रहेका २७५ वटा शाखा / ६५ विस्तारित काउन्टरहरू तथा २६५ एटीएम टर्मिनलमार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।