काठमाडौँ / कमलादीस्थित ‘स्काइवाक काठमाडौँ’ आफ्नो तेस्रो वर्षमा प्रवेश गरेको छ। वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित यो पर्यटकीय गन्तव्य विशेषगरी एरियल भ्यूका लागि चर्चित छ। वार्षिकोत्सवको अवसरमा स्काइवाकले विशेष अफर सार्वजनिक गरेको छ।
स्काइवाक काठमाडौँका अध्यक्ष तेज बहादुर सिंहका अनुसार, अफर अवधिमा स्काइवाक आउने हरेक पाहुनालाई उनीहरूको फोटो अंकित ‘कप’ निःशुल्क उपहारस्वरूप प्रदान गरिनेछ।
यो सुविधा छुट नलिइएका टिकटमा मात्र लागू हुनेछ। यो विशेष प्रस्ताव आगामी तीन महिनासम्म लागू रहने प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले जानकारी दिए।
१३ रोपनी क्षेत्रफलमा फैलिएको र ७८.५ मिटर अग्लो स्काइवाक टावर, काठमाडौँ भित्रिने बाह्य तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।
टावरको २५औँ तलामा रहेको ‘सिसा ओछ्याइएको भुईँ’ बाट हिँड्दा आकाशमै हिँडिरहेको अनुभूति हुने कम्पनीको दाबी छ।
साहसिक गतिविधि मन पराउनेका लागि स्काइवाक एक प्रमुख गन्तव्य बनेको छ। यहाँ प्रयोग भएको सिसाले प्रति वर्गमिटर ५०० किलो भार वहन गर्न सक्छ। जमिनदेखि ३५ मिटर गहिराइमा गाडिएका ५८ वटा फलामका डण्डीहरूले संरचनालाई मजबुत बनाएका छन्।
दुईवटा लिफ्टको सुविधा सहित एकैपटक ४५ जनासम्म माथि जान सक्ने व्यवस्था गरिएको छ। स्काइवाकको माथिल्लो भागमा करिब ५०० जनासम्म अट्न सक्ने क्षमताको प्लेटफर्म रहेको कम्पनीको भनाइ छ।
स्काइवाक साहसिक अनुभवका साथसाथै काठमाडौँका ऐतिहासिक स्थलहरूको अवलोकन गर्न सकिने उपयुक्त थलो पनि हो। यहाँबाट घण्टाघर, त्रिचन्द्र क्याम्पस, रानीपोखरी, दरबार हाईस्कुल, टुँडिखेल, धरहरा, शहीदगेट, सिंहदरबारलगायत स्थान स्पष्ट देखिन्छन्।
टावर परिसर अहिले विविध जमघटको थलो बनेको छ। एमपी थिएटरको सुविधा, साना कार्यक्रम गर्न सकिने स्थल, सूर्योदय–सूर्यास्तको दृश्यावलोकन तथा योग अभ्यासका लागि पनि यो उपयुक्त स्थान हो।
प्रबन्ध निर्देशक पाण्डे भन्छन्, “यो धरहराभन्दा १६ मिटर अग्लो छ। यहाँबाट काठमाडौँको ३६० डिग्री दृश्यावलोकन गर्न सकिन्छ। एउटै स्थानबाट सम्पूर्ण काठमाडौँलाई नजिकबाट बुझ्न सकिन्छ।”
कम्पनीले ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निःशुल्क प्रवेश दिने नीति अपनाएको छ। परिसरभित्र लक्ष्मी हेयर एन्ड ब्युटी सलुन, हिमालयन जाभा, बाइबियर माइक्रो पब, फिली चिया, बुरितो, एभरेस्ट मस्मसलगायतका आउटलेटहरू रहेका छन्।
साथै, स्काइ बार र स्काइ क्याफे सञ्चालनमा आइसकेका छन् भने स्काइ क्लब निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ।