रोम / संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा भागेका लाखौँ सुडानी शरणार्थीहरू भोकमरी र कुपोषणमा गहिरो डुब्ने जोखिम रहेको चेतावनी दिएको छ।
डब्लुएफपीले अन्तर्राष्ट्रिय समुदायलाई सुडानका शरणार्थी र उनीहरूलाई समर्थन गर्ने आयोजक समुदायका लागि खाद्यान्न र पोषण सहायता कायम राख्न थप स्रोत परिचालन गर्न आग्रह गरेको छ ।
राष्ट्रसङ्घीय एजेन्सीले सात छिमेकी देशमा भागेका शरणार्थीहरूलाई आपत्कालीन सहायता प्रदान गर्न तुरुन्तै परिचालन गर्दा निरन्तर खाद्य सहायता चाँडै उपलब्ध कोषभन्दा बढी आवश्यक रहेको जनाएको छ ।
आगामी छ महिनासम्म छिमेकी देशहरूमा सुडानी शरणार्थीका लागि आपत्कालीन प्रतिक्रिया कायम राख्न डब्लुएफपीलाई २० करोड अमेरिकी डलरभन्दा बढी आवश्यक रहेको औँल्याउँदै एजेन्सीले स्रोत अभावका कारण सहयोग आगामी महिनामा रोक्न सक्ने चेतावनी दिएको छ।
एजेन्सीका अनुसार सुडानभित्रका सबैभन्दा कमजोरका लागि जीवन बचाउने कार्यका लागि थप ५७ करोड ५० लाख डलर आवश्यक छ।
“सुडानबाट भागेका लाखौँ मानिस पूर्णरूपमा डब्लुएफपीको समर्थनमा निर्भर छन्, तर थप कोषबिना हामी खाद्य सहायतामा थप कटौती गर्न बाध्य हुनेछौँ । यसले कमजोर परिवारहरू र विशेष गरी बच्चालाई भोकमरी र कुपोषणको बढ्दो गम्भीर जोखिममा छोड्ने छ”, सुडान क्षेत्रीय सङ्कटका लागि डब्लुएफपीका आपत्कालीन संयोजक शन ह्युजले भने, “अन्ततः, मानवीय सहयोगले मात्रै द्वन्द्व र जबरजस्ती विस्थापनको अन्त्य गर्न सक्दैन(राजनीतिक र विश्वव्यापी कूटनीतिक कार्य युद्धको अन्त्य गर्न तत्काल आवश्यक छ ताकि शान्ति र स्थिरता फिर्ता हुन सकोस् ।”
सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र द्रुत समर्थन बलहरू बिच द्वन्द्व सुरु भएदेखि सुडानले ठुलो विस्थापन सङ्कटको अनुभव गरेको छ, लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।
यसलाई विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट बनाएको संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएको छ ।