पछिल्लो १३ वर्षदेखि सूचना प्रविधिको क्षेत्रमा युवापुस्तालाई व्यवहारिक सिप सिकाउँदै आएको लाइफ कम्प्युटरले नेपालको शैक्षिक क्षेत्रमा पृथक पहिचान बनाएको छ। काठमाडौँको बागबजार, सोह्रखुट्टे र कुमारीपाटीमा शाखा सञ्चालन गर्दै आएको यस संस्थाले खासगरी एसईई परीक्षा दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गर्दै आएको वेब प्रतियोगिता अहिले चर्चामा छ ।
सन् २०८१ को सिजनमा देशभरिबाट ९८१ जना विद्यार्थी सहभागी भएका छन् । उनीहरूले वेबसाइट निर्माण गर्दै कोडिङ, डिजाइन, प्रस्तुतिकरण र सोचको गहिराइ प्रस्तुत गरेर प्रतिस्पर्धा गरेका छन्। प्रतियोगिताको अन्तिमचरण असार ९ गते राष्ट्रिय नाचघर, जमलमा आयोजना हुँदैछ। सो सम्बन्धमा लाइफ कम्प्युटरका संस्थापक तथा सिइओ रमेश पोखरेलसँग गरिएको कुराकानीको सपादित अंशः
वेबसाइट प्रतियोगिता सञ्चालन गर्ने सोच कसरी आयो ?
वेबसाइट प्रतियोगिता सुरु गर्दा हाम्रो मूल उद्देश्य विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिनु र उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु थियो।
विशेषगरी एसईई दिएर बसेका विद्यार्थीहरूमा पर्याप्त समय र सिक्ने उत्साह हुन्छ भन्ने बुझेर उनीहरूलाई लक्षित गर्यौं। वेबसाइट बनाउने प्रक्रियामै उनीहरूको सोच, सिर्जनशीलता र आत्मविश्वासमा उल्लेखनीय विकास हुने अनुभव गरेका छौँ। भविष्यमा जुनसुकै क्षेत्रमा लागे पनि यस्ता सिपले उनीहरूलाई आत्मनिर्भर बनाउनेछ भन्ने सोचले हामी अघि बढ्यौँ।
एसईई दिएका विद्यार्थीहरूलाई मात्र लक्षित गर्नुको कारण के हो ?
हामीलाई लाग्छ, कक्षा १० देखि १२ को समय सबैभन्दा निर्णायक हुन्छ। यही उमेरमा नवीन सोच, जिज्ञासा र प्रयोग गर्ने उत्साह उत्कर्षमा हुन्छ। यसले उनीहरूलाई वेब डिजाइन, कोडिङजस्ता सीपमा तीव्र प्रगति गर्न सघाउँछ। प्लस टु सकेकाहरूका लागि भने हामीले भिन्न कार्यक्रम - कोडिङ कम्पिटिसन सञ्चालन गरिरहेका छौँ, जहाँ अझ गहिरा प्राविधिक विषयहरू समेटिन्छन्।
सुरुमा ल्यापटप पुरस्कारप्रति देखिएको शंका र त्यसबेलाको प्रतिक्रिया कस्तो थियो ?
सुरुमा धेरै अभिभावक र विद्यार्थीहरूले शंका गरेका थिए - “साँचिकै ल्यापटप दिन्छन् त ?” भन्ने सोच आम थियो। तर, सिजन १ देखि नै हामीले पारदर्शी ढंगले स्टेजमै ल्यापटप वितरण गर्यौँ, र सम्पूर्ण प्रक्रिया सार्वजनिक बनायौँ। त्यसपछि विश्वास बढ्दै गयो। आज त विद्यालयहरू स्वयं सहभागी गराउने आग्रह गर्छन्। पारदर्शिता र इमान्दारीता हाम्रो मुख्य आधार बनेको छ।
प्रतियोगिताको वर्तमान संरचना र विजेता छनोट प्रक्रिया के हो ?
यस सिजनमा ९८१ वेबसाइट प्राप्त भएका छन्। सुरुमा हाम्रो आईटी टिमले कोडिङ, डिजाइन, रङ संयोजन, सामग्री र सिर्जनशीलता हेरेर मूल्याङ्कन गर्छ। कपी पाइएको वेबसाइटहरू स्वतः अस्वीकृत गरिन्छ। त्यसपछि टप २० छनोट हुन्छन्, जसलाई वेबसाइट सुधार गरेर पुनः पेश गर्न दिइन्छ। त्यहाँबाट टप १० छानिन्छन्।
अन्तिम चरणमा डिजाइन, कन्टेन्ट, युजर एक्सपेरियन्स र प्रजेन्टेसनको आधारमा फिनालेमा मूल्याङ्कन गरिन्छ। असार ९ मा हुने फिनालेमा सहभागीले प्रत्यक्ष वेबसाइट प्रदर्शन गर्नेछन् र मूल्याङ्कन मापदण्डसमेत सार्वजनिक गरिनेछ।
प्रतियोगिताबाट व्यवहारिक रूपमा विद्यार्थीहरूले के सिकिरहेका छन् र यसको प्रभाव कस्तो देख्नु भएको छ ?
विद्यार्थीहरूले कोडिङ, डिजाइन, समस्या समाधान, प्रजेन्टेसन र सिर्जनात्मकता जस्ता व्यवहारिक सीप सिकिरहेका छन्। यी सीपहरूले उनीहरूलाई भविष्यमा रोजगारी, स्टार्टअप वा फ्रिलान्सिङको बाटोमा लैजानेछन्। हाम्रो अघिल्ला सिजनका विजेताहरूले अन्तर्राष्ट्रिय कम्पनीहरूमा काम गरिसकेका छन्, कसैले फेसबुकमा बग रिपोर्ट गरेका छन्, त कसैले एयरबसको सफ्टवेयर बनाएका छन् - यी उपलब्धिहरूले कार्यक्रमको दीर्घकालीन प्रभाव स्पष्ट देखाउँछन्।
लाइफ कम्प्युटर अन्य कम्प्युटर इन्सिच्युटहरूभन्दा फरक के हो ?
हामी केवल कम्प्युटर कोर्स पढाउने संस्था होइनौँ, हामी आईटीमैत्री समाज निर्माण गर्ने अभियानमा छौँ। प्रत्येक विद्यालय, कार्यालय र संस्था डिजिटल बन्नुपर्छ भन्ने सोचका साथ काम गरिरहेका छौँ।
बागबजार, सोह्रखुट्टे र कुमारीपाटीमा शाखा खोलेर हामी ६० वर्षसम्मका व्यक्तिलाई समेत तालिम दिइरहेका छौँ। हाम्रो विश्वास छ-उमेर होइन, उत्साह नै सिकाइको वास्तविक मापदण्ड हो।
प्रतियोगिताको भविष्यको योजना के हो ?
वर्तमानमा कार्यक्रम राष्ट्रिय स्तरमै फैलिसकेको छ। अब हामीको लक्ष्य-यो प्रतियोगितालाई देशका सबै जिल्लामा विस्तार गर्नु हो। ल्यापटपजस्ता पुरस्कारले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई पनि अवसर दिन सक्छ।
भविष्यमा हामी ‘डिजिटल पहुँच सबैका लागि’ भन्ने मूल उद्देश्यमा काम गर्दैछौं। हामी विश्वास गर्छौं-आजका यी विद्यार्थीहरूले भोलिका दिनमा स्टार्टअप, फ्रिलान्सिङ वा टेक उद्यममार्फत आफू र देशलाई आत्मनिर्भर बनाउनेछन्।