काठमाडौँ / स्पेन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबिच पनि दुई पक्षीय भेटवार्ता भएको थियो ।
त्यसबाहेक स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो ।
स्पेनमा प्रधानमन्त्रीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए । अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुका साथै विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।