काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल काठमाडौँले धनुषा जिल्लाको धनौजी गाउँपालिकामा विशेष अनुदान कार्यक्रमअन्तर्गत सञ्चालित बजार सेड निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा संघीय सरकारले प्रदान गरेको रु. ९२ लाखको विशेष अनुदान बजेटमध्ये बजार नाला तथा फोहरमैला व्यवस्थापन योजना शीर्षकमा आएको रकम कमिसनको प्रलोभनमा पारेर दुरुपयोग गरिएको हो।
एउटै निर्माण व्यवसायीमार्फत तीनवटा फरक टेन्डर फारम पेश गराई कृत्रिम प्रतिस्पर्धा देखाएर सम्झौता गरिएको, बिना निर्णय योजनाको स्वरूप फेरिएको (क्तभभ ित्चगकक बाट च्ऋऋ मा परिवर्तन(, निर्माण गुणस्तरहीन भएको, नदेखिएको काम देखाएको भन्दै झुट्टा कागजातमार्फत भुक्तानी दिइएको, तथा ठेक्का म्याद सकिएपछि पनि कार्यलाई अवैध रूपमा निरन्तरता दिइएको आरोप अख्तियारले लगाएको छ।
अनुसन्धानबाट रु. ३१ लाख ३४ हजार ७७८ बराबरको सरकारी रकम हिनामिना भएको पुष्टि भएको आयोगको भनाइ छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरान्त कारबाहीको मागसहित गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, सब–इन्जिनियर छोटे मण्डल, योजना शाखा प्रमुख ना.सु. नरेश कुमार मण्डल, लेखापाल राधेश्याम राय, सह–लेखापाल विनोद कुमार मण्डल र एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सनका सञ्चालक इन्द्रेश कुमार सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले भने, “सार्वजनिक रकमको दुरुपयोग तथा योजनामा मनोमानी तरिकाले कार्य गरिएको स्पष्ट प्रमाणित भएकाले दोषीहरूलाई कानुनी दायरामा ल्याउन विशेष अदालतमा मुद्दा दायर गरिएको हो।”