पोखरा / नेपाल आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षको इतिहासमा पहिलो पटक सतप्रतिशत स्वदेशी सीप, परामर्शदाता, निर्माण व्यवसायी तथा आन्तरिक पूँजी प्रयोग गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाइ इन्धन भण्डारणगृह ९डिपो० निर्माण सम्पन्न गरेको छ।
पोखरामा बढ्दो आन्तरिक तथा बाह्य पर्यटकको आगमनसँगै सरकार र नागरिक उड्डयन प्राधिकरणले आधुनिक विमानस्थल निर्माण तथा सञ्चालन गरिरहेको छ।
सोही विमानस्थलबाट हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई हवाइ इन्धन आपूर्ति गर्नका लागि निगमले ९,२१५ वर्गमिटर क्षेत्रफलको जग्गा लिजमा लिएर अत्याधुनिक इन्धन डिपो निर्माण गरेको हो।
डिपो निर्माणका लागि २०७७ साल चैत २ गते बोलपत्र आह्वान गरिएको थियो भने २०७९ साल कात्तिक २९ गते सार्वजनिक खरिद ऐनअनुसार छनोट गरिएका व्यवसायीसँग निर्माण सम्झौता गरिएको थियो।
२०७९ पुस १५ गते नागरिक उड्डयन प्राधिकरणसँग जग्गा भाडामा लिने सम्झौता सम्पन्न गरिएको थियो। २०८० साउन १ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा निर्माण कार्यको शिलान्यास भएको थियो।
डिपोमा १,२०० किलोलिटर क्षमताका तीन वटा स्टोरेज ट्यांक ९कुल ३,६०० किलोलिटर० निर्माण गरिएको छ, जसको उचाई र ब्यास समान १२ मिटर छ।
सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै १,२०० किलोलिटर क्षमताको पानी ट्यांकी, ४,००० लिटर क्षमताको फोम ट्यांकी र अत्याधुनिक फायर फाइटिङ संरचना जडान गरिएको छ।
२३० हर्सपावर क्षमताका दुईवटा फायर फाइटिङ डिजल पम्प, १५ हर्सपावरको जक्की पम्प तथा ८ इञ्चको पाइप प्रणालीसमेत डिपोमा समावेश गरिएको छ।
डिपोमा अमेरिकी पेट्रोलियम इन्स्टिच्युट मापदण्डअनुसारका स्टोरेज ट्यांक र फलामे पाइपहरू प्रयोग गरिएको छ। रिफ्युलिङ र भण्डारण प्रक्रिया सुरक्षित र प्रभावकारी बनाउन १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ।
यस परियोजनाको संशोधित लागत अनुमान (भ्याट बाहेक) रु ७५ करोड रहेको छ।
नेपाल आयल निगमले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक पूर्णरूपमा स्वदेशी सीप, श्रम, लगानी र प्रविधिको प्रयोग गरी यो आधुनिक हवाइ इन्धन डिपो निर्माण गरेकोमा गर्व व्यक्त गरेको छ।