आहा ! अङ्गुर खेती

आहा ! अङ्गुर खेती

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • images
    images
    आहा ! अङ्गुर खेती
    images
    images

    तनहुँ / यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुर खेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो । कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी दिए । 

    “पहिलो वर्ष करिब नौ हजार ५०० बिरुवा रोपेका थियौँ । धादिङमा रु ३८ करोड ५० लाख र तनहुँ रु डेढ करोड गरी रु ४० करोड लगानी गरिसकेको छु”, उनले भने । 

    यहाँ यस वर्ष पनि अङ्गुर फलेर टिप्ने कार्य सुरु भइसकेको छ । उत्पादित अङ्गुर तनहुँ, पोखरा, काठमाडौँलगायत क्षेत्रबाट व्यवसायी फार्ममा आएर लैजाने गरेको उद्यमी कुमार कार्कीले जानकारी दिए । उनले भने, “पहिलो वर्ष १८ लाख मूल्य बराबरको अङ्गुर उत्पादन भएको थियो, यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने अपेक्षा गरेका छौँ।”  

    कार्कीका अनुसार फार्ममा हाल २०÷२२ प्रजातिका अङ्गुर छन् । त्यसमध्ये केही खानका लागि त केही वाइन बनाउनका लागि प्रयोग हुन्छन् । खाने अङ्गुर प्रतिकिलोग्राम रु ३५० र वाइन बनाउने प्रतिकिलो रु २५० मा बिक्री गर्ने गरिएको छ । हाल दैनिक १०÷१२ जना जनशक्ति अङ्गुर टिप्नका लागि खटाइएका छन् । 

    फामा रहेका २०/२२  प्रजातिका अङ्गुर परीक्षणका लागि खेती गरिएकामध्ये करिब १० प्रजाति उत्पादनमा राम्रो भएको कार्कीले जानकारी दिए । 

    सोही कम्पनीले धादिङबाट भाइएड वाइनरी नामक वाइनसमेत उत्पादन गरिरहेको छ ।  कम्पनीको वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । प्रति ७५० एमएलको वाइनतर्फ तीन प्रकारका वाइन उत्पादन गरिएका र ती प्रतिबोतल रु एक हजार २०० मा बिक्रीका लागि बजारमा ल्याइएका व्यवसायी कार्कीले बताए । 

    धादिङको जुङ्गेखोला केवलपुर दशथाक्रे गाउँपालिकामा समेत विगत १५ वर्षदेखि १५० रोपनीमा व्यावसायिक अङ्गुर खेती गर्दै आएको उनले बताए । वाइनका लागि अङ्गुर प्रशोधनलगायत उत्पादन उद्योगसमेत सोही स्थानमा स्थापना गरिएको छ । विशेष गरी जुस, वाइन तथा खानाका लागि अङ्गुर खेती गरिएको कार्कीको भनाइ छ ।   

    अङ्गुरको बोट रोपेको एक वर्षमा फल दिन सुरु गर्छ भने पहिलो वर्षमा प्रतिबोट तीनदेखि चार केजी उत्पादन हुने गरेको छ । चैत÷वैशाखमा फूल फुलेसँगै करिब तीन महिनामा फल टिप्न तयार हुने गरेको छ । मासिक घाँस कटाइ, बिरुवा गोडमेल, मल तथा अन्य व्यवस्थापकीय काममा स्थानीयहरूले पनि काम पाएका छन् । यसका लागि ज्यालादारीमा कामदार खटाउने गरिएको कार्कीले बताए। 

    विगतदेखि नै पर्यटन क्षेत्रमा काम गरिरहेकाले कृषि क्षेत्रमा नयाँ काम गर्ने ध्येयले यस खेतीतर्फ आकर्षित भएको उनले सुनाए । धादिङमा भएको फार्मका लागि बागमती प्रदेश बिग फार्म नामक कार्यक्रम शीर्षकमा नेपाल सरकारबाट रु ५५ लाख बराबरको अनुदान दिएपछि काम गर्न थप हौसला मिलेको कृषक कार्कीले बताए ।

    “यो मेरो नयाँ पेसा पनि हो, लामो अध्ययन अनुसन्धानपछि यसका लागेको छु । हालसम्म राम्रै भइरहेको छ । यहाँ आउने धेरैले आहा ! कति राम्रो अङ्गुर खेती भनेर प्रशंसा पनि गर्छन् । सरकारले पनि अनुदान सहयोग गरेर थप हौसला प्रदान गरेको छ”, उनले भने।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com