काठमाडौँ / सरकारले आगामी आर्थिक बर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चालु आवको तुलनामा ५.५८ प्रतिशतले बढी बजेट ल्याएको हो । जुन संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस आवमा बर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।
सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो ।
आगामी आर्थिक बर्षका लागि कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत विनियोजन गरिएको छ ।
त्यस्तै, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत छुट्याइएको छ ।
त्यस्तै, कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत
अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने प्रमुख स्रोतको रूपमा राजस्व उल्लेख गरेका छन् । उनले राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड ब्योहोर्दा ५ खर्ब ९५ अर्ब ६६ करोड न्यून हुने बताए ।
सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ जुटाइने मन्त्री पौडेलले जानकारी दिए । त्यस्तै, राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्याहोरिने उनले बताए ।