काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज (आइतबार) सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले उक्त समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो । जसमा राष्ट्र बैंकले सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशतमा झारेको छ।
सेयर लगानीकर्ताले लामो समयदेखि सेयर धितो कर्जाको जोखिम भार घटाउन माग गर्दै आएका थिए। तर, अघिल्लो गभर्नरको कार्यकालमा त्यस विषयमा सुनुवाइ भएको थिएन।
नयाँ गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरेको केही दिनमै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयरधनीहरूलाई उपहार दिएका हुन् । लगानीकर्ताहरू गभर्नर पौडेललाई सेयरबजारमैत्री रहेको भन्दै उत्साहित छन् ।
नयाँ व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा दिएको कर्जाको लागि राख्नुपर्ने प्रावधान (प्रोभिजन) घटाउनेछ, जसले सो प्रकारको कर्जाको लागत समेत कम गराउनेछ।
केके छन् अन्य नीतिगत व्यवस्था
१. आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।
२. नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दरलाई ३.० प्रतिशत र ब्याजदर कोरिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैङ्क दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
३. विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैङ्कले खुला बजार कारोबार उपकरणहरूमा गरेको सुधारलाई मध्यनजर गरी बैङ्क तथा वित्तीय संस्थाहरूले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।
५. लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरूलाई समावेश गरी ‘नेपाल राष्ट्र बैङ्क विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरिनेछ ।
६. बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ ।