काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ८ महिना (साउन–फागुन)सम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । तथ्याङ्कअनुसार मूल्यबृद्धि (मुद्रास्फिति) गत बर्षको फागुन मसान्तको तुलनामा यस बर्ष मूल्यबृद्धि घटेको छ । अघिल्लो बर्ष यही अवधिमा ४.८२ प्रतिशत रहेको मूल्य बृद्धि यस बर्ष भने घटेर ३.७५ प्रतिशत कायम भएको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । यसैगरी, आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।
यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतल ेबढेको छ । शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ । नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड रुपैयाँ र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
यसैगरी, विस्तृत मुद्राप्रदाय ४.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढेको छ ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.७ प्रतिशत रहेको छ ।
हेर्नुस् पूर्णपाठ