काठमाडौँ / नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)द्वारा आयोजित नाडा अटो शो २०२५ विधिवत समापन भएको छ। राजधानीमा ६ दिनसम्म चलेको यस प्रदर्शनीमा १ लाख ६० हजारभन्दा बढी अवलोकनकर्ताहरू सहभागी भएका छन्।
समापन समारोहमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यस वर्षको अटो शो नयाँ प्रविधि र आविष्कारको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताए ।
उनले विशेषगरी उड्ने कार र रोबोटले प्रदर्शनीमा आएका उपभोक्ताको ध्यान आकर्षित गरेको उल्लेख गर्दै अटो शोले आम जनतालाई आधुनिक सवारी साधनबारे जानकारी लिन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको नाडा अटो शो ऐतिहासिक र स्मरणीय बनेको दाबी गरे। उनका अनुसार, नेपालमा पहिलोपटक उड्ने कार र रोबोटजस्ता अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरूको प्रदर्शन गरिएको हो।
उनले प्रदर्शनीले नेपालका उपभोक्तालाई विश्व बजारमा भइरहेको प्रविधिगत परिवर्तनसँग नजिक पुर्याएको बताए।
नाडा अटो शो २०२५ ले यसपटक नयाँ इभि (इलेक्ट्रिक भेहिकल) मोडेलहरू, हाइब्रिड कारहरू र अत्याधुनिक मोटर पार्ट्स पनि प्रस्तुत गरेको थियो । प्रदर्शनीमा देशभरका सवारी साधन डिलर, वितरक र अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए ।