काठमाडौँ / राष्ट्रिय वाणिज्य बैँकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैँकका सूचना अधिकारी पवन रेग्मीले जारी गरेको विज्ञप्तिमा घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोड सम्म प्रदान गर्न सकिने उल्लेख छ ।
यसैगरी विद्युतीय सवारी साधान खरिद गर्न चाहने ग्राहकहरूका लागि ७ वर्ष अवधिको ६.१० प्रतिशत व्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैँकले जनाएको छ ।
बैँकले इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६.८० प्रतिशत व्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ ।
चाडपर्वको समयमा सवारी साधन तथा घर खरिद गर्नेहरूको सङ्ख्या अधिक रहने भएका कारण सेवाग्राहीहरूलाई सहज होस भन्ने उद्देश्यका साथ चाडपर्व विशेष कर्जा अफर ल्याएको सूचना अधिकारी रेग्मीले बताए ।