काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दा ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको ५.५६ प्रतिशत आम्दानी र २.३६ प्रतिशत खर्च भएको हो ।
सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपैयाँभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको ६.०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको २.४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ ।
यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख रुपैयाँ र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपैयाँ राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर राजस्व, १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ गैरकर राजस्व र ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।
चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म १.५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बराबर खर्च भएको महालेखाले जनाएको छ ।
यस्तै, पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा ०.१८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ ।
चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबर विनियोजन भएकामा साउन मसान्तसम्म ७.२२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ ।