काठमाडौँ / नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘इकोज अफ हिमालय’ नामक विशेष सांगीतिक कार्यक्रम शुक्रबार साँझ नेपाल पर्यटन बोर्ड, काठमाडौँमा सम्पन्न भएको छ ।
कासा ब्याण्डको आयोजनामा सम्पन्न कार्यक्रममा म्युजिक नेपालका संस्थापक सन्तोष शर्मा प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
गायिका अस्मिता परियारको नेतृत्वमा प्रस्तुत उक्त कार्यक्रममा नेपाली लोकधुन, परम्परागत वाद्ययन्त्र, जातीय विविधता र सांस्कृतिक सम्पदा समेटिएको १३ वटा प्रस्तुति दिइए। अनु गान्धारी, माला वाइबा, विष्णु देव लगायत विभिन्न जातीय पृष्ठभूमिका महिला तथा युवा कलाकारहरूको सहभागिता उल्लेखनीय रह्यो।
कार्यक्रमले परम्परा र आधुनिकताको सन्तुलन कायम राख्दै नयाँ पुस्तामा लोकसंगीतप्रतिको आकर्षण बढाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।
सांस्कृतिक विविधता, महिला सशक्तीकरण र संगीतमार्फत सामाजिक एकता प्रवर्द्धन गर्ने सन्देश बोकेको ‘इकोज अफ हिमालय’ नेपाली लोकसंगीतको संरक्षणमा एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।