काठमाडौँ / साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अङ्कले बढेर २८७५ विन्दुमा पुगेको हो । आइबार भने नेप्से परिसूचक ६३.७३ अङ्कले घटेर २८५८.९० बिन्दुमा झरेको थियो । यो दिन सेन्सेटिभ इन्डेक्स ४.१६ अङ्क, फ्लट इन्डेक्स १.११ अङ्क र सेन्सेटिभ फ्लट इन्डेक्स १.५५ अङ्कले बढेको छ ।
नेप्से परिसूचक बढेको भए पनि आज कारोबार रकममा उच्च गिरावट आएको छ । यसअघि १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज १० अर्ब ८२ करोड रुपैयाँ मात्रैको सेयर खरिद बिक्री भएको छ ।
सोमबार ३२५ कम्पनीको २ करोड ७१ लाख ६९ हजार ७५५ कित्ता सेयर १ लाख ४९ हजार २७४ पटकमा खरिद बिक्री भएको छ । आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको छ । बजारमा १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।
यसदिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.८९ प्रतिशत बढेको छ भने बैंकिङ उपसमूह १.६६ प्रतिशत, हाइड्रो पावर ०.२५ प्रतिशत, लगानी ०.११ प्रतिशत, जीवन बिमा ०.५० प्रतिशत, लघुवित्त ०.६२ प्रतिशत र म्युचुअल फण्ड ०.०८ प्रतिशतले बढेको छ ।
यता, सबैभन्दा बढी वित्त सेक्टरका लगानीकर्ताले गुमाएका छन् । यो समूहको परिसूचक ०.८२ प्रतिशतले घट्दा अन्य ०.४५ प्रतिशत, निर्जीवन बिमा ०.५१ प्रतिशत, होटल तथा पर्यटन ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१२ प्रतिशत र विकास बैंक ०.०६ प्रतिशतले घटेको छ ।
आज बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ६.८९ प्रतिशतले बढेको छ भने मोलुङखोला हाइड्रोपावरको ५.४९ प्रतिशत र सिक्लेस हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.०७ प्रतिशले सेयर मूल्य बढेको छ।
बजारमा निरन्तर पोजेटिभसर्किट लाग्दै आएको ट्रेड टावरको सेयर मूल्यमा आज भने नेगेटिभ सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन १० प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३३ रुपैयाँ २० पैसा कायम भएको हो ।
बजारमा सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको यो दिन ५५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै, शिवम् सिमेन्टको ४३ करोड ६४ लाख, हिमालयन डिस्टीलरीको ३७ करोड ५८ लाख, ङादी गुप्रको ३१ करोड ८६ लाख रुपैयाँ र नेपाल रिइन्स्योरेन्सको ३१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।