काठमाडौं/ परराष्ट्रविद् एवं कूटनीतिज्ञ डा.शम्भुराम सिम्खडाले नेपाल–भारतबीचको सम्बन्ध सुमधुर र अत्यन्त प्रगाढ रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) आयोजित नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणबारे साक्षात्कार कार्यक्रममा उनले नेपाल–भारतबीचमा कुनै जटिलता छन् भने पनि उच्च नेतृत्वको बीचमा छलफल भएर टुङ्ग्याउनुपर्ने बताए ।
उनले नेपाल–भारतबीच अत्यन्त पुरानो, व्यापक, पौराणिक, सभ्यतामा आधारित र भौगोलिक सम्बन्ध रहेको बताए । ‘दुवै पक्षका कुटनीतिज्ञहरुले र राजनीतिज्ञहरुले प्रगाढता र सामिप्तालाई ध्यानमा राखेर कुटनीतिको मूल उद्देश्य भनेको आफ्नो मुलुकलाई अन्य कारणबाट समस्या आउन दिन हुँदैन,’– उनले भने ।
नेपाल र भारतबीचमा सकेसम्म कुनै समस्या सकेसम्म आउन नदिने र कथनकदाचित त्यस्ता समस्याहरु आइहाले भनेदेखि छिटोभन्दा छिटो समस्याको समाधान खोजिनुपर्ने उनको भनाइ छ ।
साथै, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको पनि चर्चा चलिरहेको स्मरण गराउँदै उनले सो भ्रमणमा नयाँ विश्वासको वातावरण निर्माण गरिनुपर्ने बताए ।
‘भारत–नेपाल सम्बन्ध अत्यन्त महत्वपूर्ण छ । अत्यन्त प्रगाढ र व्यापक छ । यसलाई नयाँ उचाइमा पुर्याउनुपर्छ । केही अविश्वासका समस्याहरु छन् भनेदेखि यती महत्वपूर्ण सम्बन्धलाई दुवै पक्षले बुझेर अहिले जुन भ्रमणको चर्चा भइरहेको छ । त्यो भ्रमणले दुई देशबीच नयाँ विश्वासको वातारण, केही समस्या छन् भने त्यो समस्या चाहिँ कूटनीतिक मार्गबाट समाधान गर्ने बाटो खुलोस्,’– उनले भने ।
भारत विकास र प्रविधिको क्षेत्रमा निकै अगाडि बढिसकेको छ, यसबाट नेपालले फाइदा लिन सक्नुपर्छः परराष्ट्रविद् लोहनी
परराष्ट्रविद डा. मोहन लोहनीले छिमेकी मुलुक भारत विकास र प्रविधिमा निकै अगाडि रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले भारतको अनुभव र प्रविधिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए ।
‘भारत अहिले धेरै अगाडि बढिसकेको छ, विकासको क्षेत्रमा, प्रविधिको क्षेत्रमा । भारतको अनुभवबाट मात्रै होइन, भारतले प्रयोग गर्ने प्रविधिबाट पनि नेपालले धेरै फाइदा लिन सक्छ । त्यतापट्टी हाम्रो ध्यान हुनुपर्छ,’– उनले भने ।
साथै, निकट भविष्यमै हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबाट दुई देशको बीचमा रहेका समस्या सर्टआउट हुनुपर्ने उनले बताए ।
‘निकट भविष्यमै प्रधानमन्त्रीको पनि भारत भ्रमण हुँदैछ । नमिलेको कुराहरु पनि दुई जनाको छलफलमा, दुई जनाको वार्तामा त्यो सर्टआउट होला भन्ने आशा छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीलाई पराष्ट्रविद् डा.पाण्डेको सुझावः ‘स्थलमार्गबाट भारत भ्रमणमा जानुस्’
पराष्ट्रविद् डा.निश्चलनाथ पाण्डेले नेपाल–भारतबो बीचमा बहुआयमिक सम्बन्ध रहेको बताए । कार्यक्रममा उनले नेपाल–भारतको बीचमा सांस्कृतिक, भाषिक, धार्मिक र वैवाहिक सम्बन्ध रहेको बताएका हुन् ।
साथै, उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे नेतृत्वमा भारतले उल्लेखनीय प्रगति गरेको पनि उनले बताए । यो १० वर्षमा भारतले तीब्र विकास गरेको उनको भनाइ छ । ‘मोदी सरकार आएपछि भारतमा यो १० वर्षमा तीब्र विकास भएको छ,’– उनले भने ।
अहिले भारतको काश्मिरमा पर्यटन क्षेत्रको अभिवृद्धि भएको, विभिन्न देशका पर्यटकहरु त्यहाँ जान थालेको र बाह्य लगानी पनि बढेको उनले बताए । पराष्ट्रविद् डा.पाण्डेले स्थलमार्गबाट भारत भ्रमणमा जान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । स्थलमार्गबाट भारत भ्रमणमा जान र भारतीय प्रधानमन्त्री मोदीको १० वर्षे नेतृत्वमा त्यहाँ भएका विकासको अवलोकन गर्न उनले आग्रह गरे ।
‘म आग्रह गर्दछु सम्माननीय प्रधानमन्त्रीज्यूसित, नेपाल सरकारसित । यो भ्रमण स्थलमार्गबाट होस् । हवाई मार्गबाट होइन । चाहे भैरहवाबाट होस्, चाहे रक्सौलबाट होस् स्थलमार्गबाट होस् । उहाँले पनि देख्नुहुनेछ, उत्तर प्रदेश, विहारको तीब्र विकास ।
सडक सञ्जालबाट, रेल सञ्जालबाट विगत १० वर्षमा विकास भएको छ । मोदी सरकार आएपछि १० वर्षमा जुन विकास भएको छ उत्तर भारतमा । त्यो लोभ लाग्दो विकास भएको छ,’– उनले भने ।
साथै, अहिले नेपालमा राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्रलगायतमा नयाँ पिँढी आइरहेको उनले बताए । त्यो नयाँ पिँढीलाई नेपाल–भारत सम्बन्धसित नजिक बनाउनुपर्ने उनले बताए ।
मोदीको कार्यकालमा भारतले लोभलाग्दो प्रगति गरेको छः पूर्वराजदूत श्रेष्ठ
पूर्वराजदूत मोहन कृष्ण श्रेष्ठ छिमेकी मुलुक भारतले कनेक्टिभिटीको क्षेत्रमा लोभ लाग्दो प्रगति गरेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतमा प्रतिघण्टा ३ सय मिलोमिटर डौडिने रेलको समेत विकास भइसकेको बताए ।
साथै, उनले नेपाल र भारतबीचको सम्बन्ध एकदमै पुरानो भए पनि बेला–बेलामा समस्या आइरहेको बताए । भारतले नेपालजस्तो सानो मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्न सक्नुपर्ने र आएका समस्याहरुलाई उच्च नेतृत्वबीच वार्ता र मध्यस्थताबाट सल्टाउनुपर्ने उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुँदाखेरी नेपालको तर्फबाट प्रष्ट आफ्ना कुराहरु राखिनुपर्ने उनले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण हुने भनेर सुनिराखेको छु ।
नेपालको परिस्थितिमा नयाँ प्रधानमन्त्री आउनुभयो भने सबैभन्दा पहिला जिज्ञासा हुने विषय हो– प्रधानमन्त्रीको भारत भ्रमण कहिले हुन्छ भन्ने कुरा । हामीले सुनेअनुसार उहाँको भ्रमण हुँदैछ । निकै राम्रो कुरा हो । भ्रमण भएपछि टेवल टक्स हुँदाखेरी आफ्नो–आफ्नो कुराहरु राख्न पाउनुपर्छ । गुजुल्टिरहेका समस्याहरुलाई समाधान गर्ने बाटो त्यही हुन्छ,’– उनले भने ।
साथै, उनले नेपालमा धार्मिक पर्यटन प्रवर्द्धनको सम्भावना निर्क रहेको बताए । उनले पशुपतिनाथ, मुक्तिनाथदेखि लिएर विभिन्न मठ मन्दिरहरुमा भारतीय धार्मिक पर्यटकहरुलाई ल्याउन सकिने बताए । ‘धर्मको दृष्टिकोणले सबैलाई बोलाउन सकिने ठाउँ धेरै छ । भारतीयहरु आएको संसारको सबैभन्दा राम्रो देश भनेको नेपाल भनेर प्रचार गरेको पनि मैले देखेको छु,’– उनले भने ।
उनले अहिले भारतीयहरु धनी भइसकेको र लाखौं लाख खर्च गर्न सक्ने क्षमता राख्ने बताउँदै नेपालमा उनीहरुलाई पर्यटकको रुपमा भित्र्याउन सक्नुपर्ने बताए । भारतले विश्वमा अहिले आफ्नो प्रभाव फैलाइरहेको बताउँदै उनले आफ्नो ‘छिमेकी पहिला’ को नीति लिइनुपर्ने बताए ।
उनले भारतका लागि आतङ्कवाद अहिले सबैभन्दा चुनौतिको विषय रहेको बताए । यसबारेमा पनि नेपाल सरकारले भारतलाई विश्वास दिलाउन सक्नुपर्ने र सीमानामा रहेका समस्याबारे पनि समाधानको पहल खोजिनुपर्ने उनले बताए ।
‘भारतले नेपालसँग अति राम्रो सम्बन्ध भएको, रोटी–बेटीको सम्बन्ध भएको देशलाई साना–साना कुरामा अल्झाउन हुँदैन । उहाँहरुको दिल अलि फराकिलो हुनुपर्छ,’– उनले भने ।
साथै, भारतजस्तो ठूलो जनसंख्या भएको देशमा नेपालले आफ्ना उत्पादनहरु विक्री गरेर फाइदा लिन सक्नुपर्ने उनले बताए । नेपालले भारतसँग र भारतले नेपालसँग जहिले पनि राम्रो सम्बन्ध राख्नुपर्ने उनले बताए ।