काठमाडौँ / साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ४७.९३ अङ्कले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
नेप्सेमा आएको गिरावटसँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लिएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ ।
१ लाख ४१ हजार ५२० पटकको कारोबारमा उक्त कारोबार भएको हो । अघिल्लो कारोबार दिन मङ्गलबार १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर कारोबार भएको थियो ।
आज सेन्सेटिभ इन्डेक्स १०.७५ अङ्कले घटेको छ । फ्लोट इण्डेक्स ३.६३ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.७४ अङ्कले घटेको छ ।
बुधबार अन्य सेक्टरबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये सबैभन्दा बढी गुमाउनेमा लघुवित्त र विकास बैंक समूहका लगानीकर्ता छन् । यी दुई सेक्टरको परिसूचक क्रमशः ३.२८ र ३.२७ प्रतिशतले घटेको हो ।
यसैगरी, वित्त समूह २.७० प्रतिशत, होटल तथा पर्यटन समूह २.१० प्रतिशत, बैंकिङ उपसमूह १.५५ प्रतिशत, हाइड्रोपावर १.६३ प्रतिशत, लगानी १.६५ प्रतिशत, जीवन बिमा १.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन १.३२ प्रतिशत, निर्जीवन बिमा १.५४ प्रतिशत, व्यापार १.७२ प्रतिशत र म्युअुल फण्ड ०.१० प्रतिशतले घटेको छ ।
यसदिन सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जीको सेयर मूल्य यसदिन प्रतिकित्ता ७६.९० रुपैयाँले बढेर ८४५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ट्रेड टावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ८६.२० रुपैयाँले वृद्धि भएर ९४८.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ७७.४३ रुपैयाँले बढेर १२२६.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सिकलेस हाइड्रो पावरको सेयर मूल्य प्रतिकित्ता ४९.२५ रुपैयाँले बढेर १००३.९२ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
यसदिन ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ८.०४ प्रतिशतले घटेर १२४७.६२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कालिका पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६.०१ प्रतिशतले घटेर ६३०.४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, शिवम् सिमेन्ट र ग्रीन भेन्चर्स लिमिटेड कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।