काठमाडौं/ इजरायलका महामहिम राजदूत श्मुलिक आरि बासले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसँग भेट गरी इजरायलमा नेपाली कृषि विद्यार्थीहरूको इन्टर्नशिप कार्यक्रम पुनःसञ्चालन गर्ने विषयमा महत्वपूर्ण छलफल गरेका छन् ।
बैठकमा शिक्षा सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाज्यू तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी थिए ।
बैठकको क्रममा, मन्त्रीले इजरायलले विगतदेखि वर्तमानसम्म नेपालप्रति विभिन्न चरणमा विविध क्षेत्रमा गरेको सहयोगको प्रशंसा गरे ।
शिक्षामन्त्रीले इन्टर्नशिपसम्बन्धी विषय प्रस्तुत गर्न अनुरोध गरे, जसमा राजदूत बासले सन् २००१ देखि संचालनमा रहेको परियोजनाबारे जानकारी दिए । सो कार्यक्रममार्फत ४,००० भन्दा बढी नेपाली कृषि विद्यार्थीहरू इजरायलको कृषि अनुभव हासिल गर्न सफल भएका बताए ।
धेरै जसोले इजरायलबाट फर्केपछि नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदान समेत पुर्याएका बताए ।
तर, सन् २०२३ अक्टोबर ७ मा भएको हमास आतंकवादी हमलापछि विद्यार्थीहरूलाई इजरायल जान रोक लगाइएको छ।
यदि यो प्रकृयागत ढिलाइ यथावत् रह्यो भने नेपालको कृषिलाई अगाडि बढाउन सक्ने लगभग १,००० कृषि इन्टर्नहरूको अवसर गुमाउने बताए ।
उनले शिक्षा मन्त्रालयसँग विश्वविद्यालयहरूमा विद्यार्थीहरूलाई समयमै दर्ता गर्ने र इजरायल जान दिनका लागि निदेशन गरी सहयोग गरिदिन हुन आग्रह गरे ।
यस सन्दर्भमा शिक्षा मन्त्रालयले इन्टर्नशिपमा जाने विद्यार्थीहरूको इजरायल फिर्तीमा कुनै अवरोध नरहेको स्पष्ट गरेको छ।
शिक्षा मन्त्रालयले अभाव पूर्ति गर्न आगामी बर्षमा कोटा बढाउने प्रस्ताव पनि गरेको छ। इजरायली परराष्ट्र मन्त्रालयबाट प्राप्त जवाफ र इजरायलका लागि नेपाली राजदूतबाट सुरक्षा अवस्थाको बारेमा दुई सकारात्मक रिपोर्टहरू अनुसार परराष्ट्र मन्त्रालयले इजरायलको स्रुरक्षा अवस्था सामान्य भैसकेकोले इजरायल जाने प्रकृया पूर्ववत प्रकृया अनुसार निरन्तरता दिन पनि एक सूचना जारी गरिसकेको छ।
विद्यार्थी दर्ता प्रक्रिया द्रुत रूपमा अघि बढाउन, यसबारे विद्यार्थीहरूलाई जानकारी दिन र विश्वविद्यालयहरूसँग समन्वय गर्न सबै सम्बन्धित निकायहरूलाई आग्रह पनि गरिएको छ।