काठमाडौँ / संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ ।विद्यालयको १४ वर्षमुनिका बालक फुटबल टोलीले आगामी जुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप सेभेन–ए–साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएको हो ।
यो प्रतियोगिता विश्वकै सबैभन्दा अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ, जहाँ यस वर्ष मात्र ४५ भन्दा बढी देशका १,१०० टोलीहरू सहभागी हुँदैछन् । संस्कृति टोलीलाई औरियम स्पोट्र्स एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ ।
प्रतियोगिताको मूख्य विशेषताः
अन्तर्राष्ट्रिय सहभागिता ः हरेक वर्ष २०,००० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरू एकै स्थानमा भेला हुन्छन् ।
१४ वर्षमुनिको समूह ः १०० देखि १५० टोलीसम्म सहभागी हुने यस समूहमा विश्वभरका विद्यालय तथा क्लब टोलीहरूले प्रतिस्पर्धा गर्छन् । पाँच दिनसम्म चल्ने राउन्ड–रोबिन खेलपछि ‘ए’ र ‘बी’ फाइनल खेल हुने व्यवस्था रहेको छ ।
उक्त प्रतियोगिता ५० भन्दा बढी घाँसे मैदान र शटल बस सेवा सहितको सुविधा सम्पन्न पार्क भेन्डियामा खेलहरू सञ्चालन हुनेछ ।
सांस्कृतिक अनुभव ः सहभागी टोलीहरू स्थानीय विद्यालयमा बसोबास गर्ने, जसले अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्छ ।
ऐतिहासिक अवसर
संस्थापक निर्देशक दीप्ति आचार्यले भनिन्, “डाना कपजस्तो अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न पाउनु हाम्रा विद्यार्थीहरूको लागि ऐतिहासिक अवसर हो । यसले उनीहरूको प्रतिभा, अनुशासन र फुटबलप्रतिको उत्साह देखाउँछ । हामी केवल एक टोली मात्र होइन, नेपालका युवाहरूको आत्मविश्वास र एकताको सन्देश बोकेर जान डेनमार्क लागेका हौँ ।”
त्यस्तै प्रमुख प्रशिक्षक रमेश महर्जनले भनिन्, “हाम्रा खेलाडीहरूले निकै मेहनतपूर्वक तयारी गरेका छन् । यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनीहरूको सीप निखारिनेछ, सोचाई फराकिलो हुनेछ र खेलप्रतिको बुझाइ अझ गहिरो बन्नेछ । संस्कृति स्कूलले शिक्षा र खेलकुदको सन्तुलनलाई सधैं प्राथमिकता दिएको छ ।”
डाना कपको महत्व
विश्वमै अन्तर्राष्ट्रिय ः सहभागी टोलीमध्ये ९० प्रतिशत टोलीहरू विदेशबाट आउँछन्, जसले हरेक खेललाई सांस्कृतिक अनुभव बनाउँछ ।
प्रतिस्पर्धात्मक अवसर ः विभिन्न क्लबका स्काउट र प्रशिक्षकहरूले उदीयमान प्रतिभाहरूको खोजी गर्ने उत्कृष्ट मौका पनि हो ।
सामुदायिक सहयोग ः प्रतियोगिताबाट संकलित आम्दानी स्थानीय खेल गतिविधिहरूमा लगानी गरिन्छ ।
जीवनपाठः टिमवर्क, सहिष्णुता र विश्वनागरिकताको अनुभूति गराउने अवसर ।