काठमाडौँ / अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि ब्याज दर घटाएका छन्। बैंकहरूले आज प्रकाशित गरेको सूचनाअनुसार बैंकहरूले साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याज दर घटाएका हुन्।
कूल २० वटा बाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दतीतर्फ निक्षेपमा १६ ओटाले ब्याज घटाएका छन् भने ४ वटा बाणिज्य बैंकले असारकै ब्याज दरलाई कायम राखेका छन् । साउन महिनाका लागि कुनै पनि बैंकले व्यक्तिगत निक्षेपमा ब्याज बढाएका छैनन् ।
साथै, संस्थागत निक्षेपतर्फ ११ वटा बैंकले व्याजदर घटाएका छन् भने ८ वटा बैंकले असार महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप सङ्कलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकको नीतिको प्रभाव बैंकको ब्याजजदरमा पनि परेको हो ।
साउन महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत, एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले ब्याज ५.२५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ३.१ प्रतिशत, नबिल बैंक ४.०५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.२५ प्रतिशत ब्याज, लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.३५ प्रतिशत ब्याज दर कायम गरेका छन् ।
त्यसैगरी, कुमारी बैंकले ४.०१ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ प्रतिशत, ग्लोबल आईएमई बैंकले ४.२५ प्रतिशत, सिद्धार्थ बैंकले ४.७५ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले ३ प्रतिशत, कृषि विकास बैंकले ३.५, नेपाल बैंकले ३.७५ प्रतिशत, एनएमबी बैंक र हिमालयन बैंकले ५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
यता, संस्थागततर्फको निक्षेपमा पनि ११ वटा बैंकले ब्याज दर घटाएका छन् भने ८ ओटाले असारकै ब्याज दरलाई निरन्तरता दिएका छन् । त्यस्तै, हिमालयन बैंकले १ प्रतिशत ब्याज दर बढाएको छ ।