काठमाडौँ / कामना सेवा विकास बैंक आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यससँगै कामना सेवा विकास बैंक चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक बनेको छ ।
नेपाल राष्ट्र बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न ३० दिनको समय दिएको छ । यसअघि भने वित्तीय विवरण सार्वजनिक गर्ने समय २१ दिनको रहेको थियो ।
साउन २ गते नै वित्तीय विवरण प्रकाशित गर्दै कामना सेवा विकास बैंक गत आर्थिक वर्षमा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ । जुन अघिल्लो बर्षको तुलनामा ९.१९ प्रतिशत बढी हो । अघिल्लो वर्ष भने बैंकले ५८ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख रुपैयाँले ऋणात्मक थियो। बैंकको लाभांश क्षमता १७.३० प्रतिशत कायम गरेको छ ।
गत वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ९८ करोड ६९ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९६ करोड ७८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि १.९७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकले २ अर्ब २४ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६० करोड ७४ लाख रुपैयाँ र १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः ४१ करोड १२ लाख रुपैयाँ र १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो।
गत बर्ष बैंकले ६२ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
गत वर्ष बैंकले खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ३.३८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.३६ प्रतिशत थियो ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १७.७३ रुपैयाँमा सीमित थियो। पीई रेसियो २७.६९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ रहेको छ।
देशभरका १३० वटा शाखा सञ्जालबाट अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको बैंकले वर्तमान आर्थिक चुनौतीको बावजुद मुनाफा कमाउन सफल भएको छ ।
बैंकले अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्नको लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृति पश्चात आवश्यक प्रकृया पूरा गरि सेयर जारी गर्ने बैंकले जनाएको छ ।