काठमाडौं/ सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल सार्वजनिक भएपछि सत्तापक्ष प्रतिपक्ष नेताहरु तर्क वितर्क शुरु भएको छ । भ्रष्टचारी सरकार भन्दै सामाजिक सञ्जालमा सर्वसाधरणहरुले छेडेका छन् । प्रतिपक्षहरुले विरोध गरेका छन् ।
घुस डिल गरिरहेको अडियो रेकर्ड बाहिरिएपछि उक्त प्रकरणमा भूमिमन्त्री बलराम अधिकारी पनि जोडिएका छन् । अधिकारी र गुप्ता दुवै एमालेका मन्त्री हुन् ।
‘त्यसमा सरकारले आन्तरिक छानविन पनि गर्ने, मन्त्रीको नाम आइसकेपछि, मन्त्रीको भ्वाइस रेकर्ड नै बाहिर आएपछि त्यसमा सरकारको आन्तरिक छलफलको विषय पनि बनाउनुपर्ने हुन्छ तर, सत्तापक्षले अहिलेसम्म आफ्नो निर्णय सुनाएको छैन । यतिबेलासम्म सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रर्दशन गुर्नपर्ने थियो । नेपाली कांग्रेसका केही नेताहरुले सार्वजनिक मञ्चमा भने राजीनामा दिनुपर्ने बताएका छन् । बचाउ गर्दै एमाले नेताहरुले दोषी भए नछाडिने बताएका छन् ।
नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताइसकेका छन् ।
आज शनिबार नेता रसाईलीले मन्त्रीहरु आफैंले नैतिकताको आधारमा राजीनामा नदिने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् ।
मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौति थपिएको छ । सरकारले यसमा छानविन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । पहिलो कुरा मन्त्रीहरुले राजीनामा दिनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’– रसाईलीले भने ।
साथै, उनले एक वर्षे कार्यकालमा सरकारले एकदमै उत्कृष्ट अंक ल्यायो भन्न सकिने अवस्था नरहेको बताए । सरकारका केही मन्त्रीहरु र प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न खोजेजस्तो हुटहुटी भने देखिएको उनको बुझाइ छ । उनले सरकारले नेपाली जनताको चाहना अनुसार काम गर्न नसकेको बताए । यद्यपि, सरकार पूर्णरुपमा असफल भने नभएको उनको दाबी छ ।
कांग्रेसमा संस्थापन पक्षले शेखर कोइराला र गगन थापा समूहका नेताहरुलाई खोजी–खोजी अनुशासनको कारबाही
साथै, फरक प्रसंगमा उनले कांग्रेसमा संस्थापन पक्षले शेखर कोइराला र गगन थापा समूहका नेताहरुलाई खोजी–खोजी अनुशासनको कारबाही गरेको बताए । पार्टीको अनुशासन समितिले पूर्वाग्रह राखेर कारबाहीको डन्डा चलाएको उनले बताए । पार्टीका २३ नेताहरुमाथि भएको अनुशासनको कारबाही फिर्ता हुनुपर्ने उनले बताए ।
‘पार्टीको केही महत्वपूर्ण जिम्मेवारीमा रहेका साथीभाइहरुलाई बहुमतको बलबाहुमा कारबाही गर्ने काम भयो । त्यसका प्रति हाम्रो गम्भीर असहमति छ । पार्टीभित्र आफ्नालाई चोख्याउने, आफूसँग असहमत हुने, विचारमा, सिद्धान्तमा, हिजोको निर्वाचनमा अथवा पार्टीका आन्तरिक प्रतिस्पर्धामा असहमति राख्ने साथीहरुलाई किनारा लगाउने षड्यन्त्र भएको छ,’ उनले भने, उनले भने, ‘शेखर कोइराला, गगन थापा समूहका नेताहरुलाई खोजी–खोजी कारबाही गर्ने, त्यही प्रकृतिका आफ्ना समूहका नेताहरुलाई कारबाही नगर्ने काम भएपछि हाम्रो त्यसमा गम्भीर ध्यानाकर्षण भएको छ ।’
सरकार कसैको बचाउमा लाग्दैन, घुस प्रकरणमा जुन मन्त्री दोषी देखिए पनि कारबाही हुन्छः एमाले नेता तामाङ
नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले वर्तमान सरकारले देशको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रको सूचकहरु सकारात्मक दिशातर्फ गएको बताएका हुन् ।
‘देश अनिर्णय, अराजकता र आर्थिक अनुशासनहीनताको बाटोमा गइराखेको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउने काम यो सरकारले गरेको छ । अहिले सूचकहरु हेर्ने हो भने सबै क्षेत्रमा सुधार छ,’– उनले भने ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनेदेखि लगानीमैत्री वातावरण बनेको, नीजी क्षेत्रलाई प्रोत्साहित गर्ने र उनीहरुको माग सुनुवाइ गर्ने काम भएको, झण्डै ३० अर्बभन्दा बढी दायित्व भुक्तानी गरेको, शून्य दशमलव ५ प्रतिशत आर्थिक बृद्धिदर भएको, अर्थतन्त्रको आकारमा बृद्धि भएको, राजश्व बृद्धि भएको, पुँजीगत खर्चमा पनि बृद्धि भएको र अर्थतन्त्रको १८ वटा सूचाङ्क सकारात्मक रहेको उनले बताए ।
साथै, विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयलाई लिएर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने कोशिस भइराखेको उनले बताए । उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु बहसको विषय हुनसक्ने बताए । तर, यसलाई अहिले एमालेसँगमात्रै जोडेर बहस गरिन नहुने उनले बताए । उनले एमालेको अध्यक्ष केपी ओली हुने कि विद्या भण्डारी हुने भन्ने कुरा एमालेको महाधिवेशनले बताउने उनले बताए ।
‘उपाध्यक्ष भइसकेको मान्छे अब अध्यक्ष नै हुने होला भन्ने बजारमा चर्चा छ । एमालेलाई कमजोर बनाउन सकिन्छ कि, यसको नेतृत्वलाई कमजोर बनाउन सकिन्छ कि ? कुनै पनि हालतमा एमालेलाई कमजोर बनाउन नसकेपछि अरु पार्टीका साथीहरुले गरिराखेका छन् । एमालेलाई धुजा–धुजा बनाउने प्रयन्त गरिएको थियो । अध्यक्ष कमरेड ओलीले एमालेलाई एकीकृत राख्न सफल हुनुभयो,’– उनले भने ।
उनले एमालेको ११औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने बताए । ‘जो बन्छ, पार्टीको सर्वसम्मत केपी ओलीको नेतृत्वले सर्वसम्मत तरिकाले एमालेको महाधिवेशनमा नेतृत्व चयन हुन्छ । यसमा हामी ढुक्क छौं,’– उनले भने ।
साथै, उनले सरकारले गलत काममा कसैलाई पनि संरक्षण नगरेको बताए । मन्त्रीहरुको घुस प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुने उनले बताए । ‘मन्त्रीज्यूले मेरो होइन भनिराख्नुभएको छ । सत्यतथ्य आयो भने जो दोषी हुन्छ, ऊ कारबाहीमा पर्र्छ । कसैलाई पनि संरक्षण गरिएको छैन, कसैलाई पनि संरक्षण गरिँदैन,’– उनले भने ।