काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।
सार्वजनिक गरिएको नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए ल्याएका छन् । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १२६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना विद्यार्थी वर्गीकृत भएका छन् ।
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए । १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत भएको छ ।
नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।