काठमाडौँ / विकास हाइड्रोपावर कम्पनी लिमिटेडले (असार २९) आइतबार आइपिओ बाँडफाँड गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकको रूपमा रहेको प्रभु क्यापिटल लिमिटेडले आइतवार विहान ९ बजे आइपिओ बाँडफाँड गर्न लागेको हो ।
कम्पनीको आइपिओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट बाँडफाँट हुनेछ । भाग्यमानी २ लाख ९४ हजार २७६ जना आवेदकले १० कित्ताका दरले आइपिओ प्राप्त गर्नेछन् ।
सर्वसाधारणमा जारी गरिएको आइपिओ खरीदका लागि २१ लाख २० हजार ८७५ जनाबाट २ करोड ५६ लाख २७ हजार ११० कित्ता माग भएको छ । कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आइपिओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आइपिओ निष्कासन गरेको थियो । आइपिओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आइपिओमध्ये १० प्रतिशत दरले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता आइपिओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको हो । यी वाहेक पनि कर्मचारीहरूका लागि ७० हजार ९१० कित्ता र सामूहिक लगानीकोषका लागि १ लाख ७७ हजार २७५ कित्ता सेयर बाँडफाँट गरिएको छ ।
यस कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४ दशमलव ५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन १७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड १९ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको कम्पनीले चालू आर्थिक वर्षभित्र भने ४ करोड १३ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षसम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ४३ पैसा छ ।