धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा

धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा

बिहिवार, असार १९ २०८२
बिहिवार, असार १९ २०८२
  • images
    images
    धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
    images
    images

    नवलपरासी / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा परेको छ । जिल्लाको बुलिङटार गाउँपालिका–६ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाटमा पूर्वाधार विकाससहित प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । 

    कालिगण्डकी करिडोरसँगै जोडिएको घुमारी घाट प्राकृतिक रूपमा मनमोहक रहेको छ । कालीगण्डकी नदीले शङ्ख आकारको घाट बनाएको यो स्थानलाई कृष्णसँग जोडिएको धार्मिक कथाले भरिएको छ । घुमारी घाटमा द्वापर युगमा भगवान् श्रीकृष्णले कामधेनु गाई चराउँदै आउँदा गाईको दूध खाएको धार्मिक विश्वास रहेको छ । सो स्थानमा भगवान् कृष्णले दूध खाँदा बग्दै आएकी कालीनदी श्रीकृष्णलाई बचाउन घुमेर बगेको बताइन्छ । 

    कालीगण्डकी नदीले करिब ५०० रोपनी क्षेत्रफलमा शङ्ख आकारको प्राकृतिक घेरा बनाएको छ । कालीगण्डकी नदी घुमेर बगेको प्राकृतिक रूपमा मनमोहक स्थान भए पनि घुमारी क्षेत्र ओझेलमा पर्दै आएको स्थानीय समाजसेवी डिबी गुरुङले बताए। 

    कालीगण्डकी नदी बग्दै आउँदा यति सुन्दर भएर घुमेको र धार्मिक मान्यतासँग समेत जोडिएको स्थल भए पनि यसको विकास र प्रवद्र्धनमा खासै कसैले चासो नदिएको उनले बताए । घुमारी क्षेत्र पुग्ने बाटो स्तरोन्नतिको कामले समेत पूर्णता पाउन नसक्दा धेरै मान्छे उक्त स्थल नपुग्ने गरेको उनले बताए । “पहुँच मार्ग सहज हुने हो भने कालीगण्डकी करिडोर हुँदै यात्रा गर्ने जो कोही यसको अवलोकनका लागि आउँथे होला, बाटोको पनि असुविधा छ, पूरै बन्न सकेको छैन”, गुरुङले भने । 

    घुमारीको विकासका लागि केही वर्ष पहिले काम अघि बढेको भए पनि हाल अलपत्रजस्तै बन्न पुगेको छ । पाँच वर्ष पहिला निर्माण सुरु गरिएको राधाकृष्ण मन्दिर अहिले अलपत्र अवस्थामा रहेको छ । मन्दिरले पूर्णता नपाउँदा बनेका संरचनासमेत जीर्ण बन्दै गएको छ । गण्डकी प्रदेश सरकारमार्फत २०७७ सालमा मन्दिरको संरचना निर्माण सुरु गरिएको थियो । पछिल्ला वर्षमा उक्त स्थानका लागि बजेट नपर्दा अलपत्र बनेको स्थानीय गुरुङको भनाइ छ । 

    सुरु गरिएको कार्यलाई पूर्णता दिनेगरी योजना नबनाउँदा घुमारीमा हाल रहेका संरचना थप जीर्ण भएर भग्नावशेषमा परिणत हुने चिन्ता छाएको छ । निर्माण सुरु गरिएको योजनालाई पूर्णता दिने साथै यसको प्रचारप्रसार र प्रवद्र्धनमा लाग्नुपर्ने उनले बताए । 

    पर्यटन तथा उद्योग कार्यालय नवलपुरका कार्यालय प्रमुख निर्मलराज बरालले जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा केही पूर्वाधार विकासका लागि बजेट र योजना भए पनि घुमारीका लागि चालु आवमा केही कार्य नभएको बताए । जिल्लाको  पर्यटकीय क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षको योजनामा समेत घुमारी कतैबाट सिफारिस नहुँदा सो स्थानमा  काम गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com