काठमाडौँ / गरिमा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच एनपिएस-एनसिएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ ।
असार १५ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलले हालै एनपिएस-एनसिएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै गरिमा विकास बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपिएस-एनसिएसलाई विभिन्न कार्ड स्वीचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्वीचको रूपमा स्थापना गरिँदैछ ।
उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम् उपकरणहरूको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी, र १०० भन्दा बढि गैर-बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।
एनपिएस-एनसिएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पु-याउने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी विकास बैंकहरूमध्येको गरिमा विकास बैंकले देशभरी रहेका १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएम टर्मिनलमार्फत ग्राहकवर्गहरूलाई गुणस्तरीय बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आइरहेको छ ।