काठमाडौँ / एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्लाअन्तर्गत बर्दिबास नगरपालिका - १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ ।
यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा सङ्ख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रूपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीहरूलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक सङ्ख्या रहेका र देशैभरी १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६८ एटिएम छन् ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ ।
बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ ।