काठमाडौं/ कमलराज गौतम यातायात व्यवस्था कार्यालय, पर्साका सवारी चालक अनुमतिपत्र शाखाका अधिकृत हुन् । तहगत हिसामले उनी आठौं तहका कर्मचारी थिए ।
एउटा शाखा अधिकृतको साना मान बेग्लै थियो । उनको ठाँट कुनै करोडपति ब्यापारीको भन्दा कम थिएन । तर, अहिले उनी अख्तियार दुरुपयोग आयोगको फन्दामा परेका छन् । एउटा शाखा अधिकृतको करोड करोड आम्दानी हुने, पारिवारिक खर्च करोडमा हुने देखिएपछि गौतमलाई अख्तियारले डामेको छ ।
अख्तियारको अनुसन्धानमा गौतमले २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको कार्यकालमा आफ्नो पारिश्रमिक, भत्ता, श्रीमती सरला नेपालको आम्दानी, ऋण, घर जग्गा तथा सवारी साधन बिक्री, बीमा, कृषि, घरभाडा र बैंक ब्याज लगायतबाट कूल २, करोड ८९ लाख २० हजार २६८ रुपैयाँ १८ पैसा बराबरको वैध आम्दानी आर्जन गरेको देखिन्छ ।
तर, सोही अवधिमा निज तथा निजको परिवारको नाममा घर निर्माण, जग्गा खरिद, घर जग्गा रेजिष्ट्रेशन शुल्क, सवारी साधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण भुक्तानी, शेयर खरिद, बैंकमार्फत लगानी, सुन खरिद र मौज्दात रकमसमेत गरी कुल ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ ८९ पैसा बराबरको खर्च तथा लगानी देखिएको असन्धान आयोगको रिपोर्ट छ ।
यसरी निजको कुल वैध आयभन्दा रु. २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ ७१ पैसा बढी खर्च र लगानी भएको पुष्टि गरेको छ । सो रकम स्रोत नखुलेको गैरकानूनी सम्पत्ति भएको ठहर अख्तियारको छ ।
निज गौतमले राष्ट्रसेवक पदमा बहाल रहँदा प्रत्येक वर्ष पेश गर्नुपर्ने सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण नदिई झुठ्ठा विवरण पेश गरेको पनि अनुसन्धानले देखाएको छ ।
सोही आधारमा उनलाई साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा मुद्दा दायर गरिएको अख्तियार अनुसन्धान दुरुपयोग आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताएका छन् ।
सो ऐनअनुसार कैद, जरिवाना र गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफतको मागसमेत गरिएको छ।
यसबाहेक, कमल राज गौतमले स्रोत नखुलेको सम्पत्तिबाट श्रीमती सरला नेपालका नाममा खरिद गरी राखेको सम्पत्ति समेत जफत गर्नुपर्ने देखिएकाले निजलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।
विशेष अदालतमा दायर आरोपपत्रमा साबिक ऐनका दफा ३, १६ ग, २९ तथा प्रचलित ऐनका दफा १६ (२), २० (२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख अनुसार कानुनी कारबाहीका लागि मागदाबी गरिएको छ।
यस मुद्दाका सम्बन्धमा अख्तियारका सहायक प्रवक्ता थपलियाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।