काठमाडौँ / पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सबै आर्थिक सेवा तथा सुविधा त्याग गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा औपचारिक पत्र पेस गरेकी छन् ।
उनका स्वकीय सचिव राजकुमार राईले बुधबार उक्त पत्र गृहसचिवलाई बुझाइएको जानकारी दिएका हुन् ।
गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार भण्डारीले पूर्व राष्ट्रपतिको हैसियतबाट पाउने सम्पूर्ण सेवा, सुविधा नलिने स्पष्ट उल्लेखसहितको निवेदन पेश गरेका हुन् ।
आचार्यले भने, “पूर्व राष्ट्रपतिको हैसियतबाट पाउने आर्थिक लगायतका सबै सेवा, सुविधा नलिने भन्ने निवेदन आज प्राप्त भएको छ।”
यद्यपि, भण्डारीको सुरक्षा सुविधा भने यथावत रहने मन्त्रालयले स्पष्ट पारेको छ। यो निर्णयलाई कतिपयले व्यक्तिगत नैतिकताको उदाहरणका रूपमा हेरिरहेका छन् ।