कर्णाली विकास बैंकमा भएको आर्थिक घोटाला प्रकरणमा प्रहरीले बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार मिश्रलाई सिआइबीको टोलीले पक्राउ गरेको हो । मिश्र २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए ।
यस प्रकरणमा यसअघि नै बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई समेत पक्राउ गरिसकिएको छ। यस्तैगरी हालसम्म तीन जना पक्राउ परिसकेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामाथि बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ। सिआइबीको डिएसपी दानबहादुर थापाको नेतृत्वमा आएको टोलीले नेपालगन्जमा रहेर अनुसन्धान गरिरहेको छ।
कर्णाली विकास बैंकमा हालसम्म दुई अर्ब ५० करोड रुपैयाँ बराबरको अपचलन भएको उजुरी परेको छ।
बैंकका प्रमुख अपचलनकर्ता मानिएका राजेन्द्रवीर रायसँग करिब ८० प्रतिशत संस्थापक सेयर रहेको र उनी १५ वर्षसम्म कार्यकारी अध्यक्ष तथा सिइओको जिम्मेवारीमा थिए।
पक्राउ परेकाहरूलाई बाँकेमा नै राखेर सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ ।