एयर क्यानडाको औद्योगिक सम्बन्ध समितिले १० हजार उडान कर्मचारी (फ्लाइट अटेन्डेन्ट) सहभागी रहेको भनिएको हड्ताल अन्त्य गर्न निर्देशन दिएको छ । निर्देशनपछि एयर क्यानडाले आइतबारदेखि उडान सुरु गर्ने जनाएको छ ।
समितिले एयर क्यानाडालाई १७ अगस्ट २०२५ मा दिउसो १४ः०० बजेभित्र आफ्नो काम सुरु गर्न र सबै एयर क्यानाडा र एयर क्यानाडा रुजका उडान सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिएको हो।
क्यानडाको राष्ट्रिय ध्वजाबाहक कम्पनीले आइतबार साँझदेखि उडान सुरु गर्ने योजना बनाए पनि उडान सामान्य अवस्थामा फर्कन अझै केही दिन लाग्ने चेतावनी दिएको छ ।
आगामी सातदेखि १० दिनभित्रका केही उडान रद्द हुने बताइएको छ । एयर क्यानाडाका ‘क्याबिन क्रु’ले तलब विवादका कारण शनिबार बिहानै हडतालमा सहभागिता जनाएका थिए ।
त्यसको केही घण्टापछि क्यानडाका श्रम नीतिमन्त्री प्याटी हज्दुले हडताल रोक्न र दुवै पक्षलाई बाध्यकारी मध्यस्थता गर्न बाध्य पार्ने कानुनी प्रावधान लागू गरेका थिए।
“क्यानडा श्रम संहिताको धारा १०७ र औद्योगिक समितिको आदेशले एयर क्यानाडाको हडताल अन्त्य गरेको छ । हडतालका कारण ७०० भन्दा बढी उडानहरू स्थगित भएका छन्,” मोन्ट्रियलस्थित क्यानडा एअरलाइन्सले भनेको छ।
क्यानेडियाली सार्वजनिक रोजगार युनियन (सियुपिई)ले कामदारको आन्दोलनको नेतृत्व गर्दै आएको छ, जसले तलब वृद्धिका साथै बोर्डिङ प्रक्रियाको समयमा समेत क्षतिपूर्ति नपाएको बिषयलाई सम्बोधन गर्न माग गरेको छ ।
सरकारले औपचारिक रूपमा काममा फर्कन आदेश जारी नगर्दासम्म आफ्ना सदस्यहरू हडतालमा बस्ने यसअघि नै उसले बताएको थियो।
हड्तालसँगै युनियनले एयर क्यानाडा वा यसको कम लागतको सहायक कम्पनी एयर क्यानाडा रुजको टिकट भएमा यात्रुलाई विमानस्थल नजान आग्रह गरेको थियो ।
सियुपिइले तुरुन्तै काममा फर्कने निर्देशनबारे प्रतिक्रिया जारी गरेन तर क्यानाडा सरकारको हस्तक्षेपलाई ‘एयर क्यानाडाले उनीहरूले माग गरेको कुरा दिएर निष्पक्ष वार्ता गर्न इन्कार गरेकोमा पुरस्कृत गरेको’ भनेर आलोचना गरेको छ।
सियुपिइले एक विञप्ति जारी गर्दै भनेको छ, “यसले भयानक नजिर स्थापित गरेको छ।” युनियनले औदोगिक समितिका अध्यक्ष मेरिसे ट्रेम्ब्लेले यसअघि एयर क्यानडाका लागि कानुनी सल्लाहकारको रूपमा काम गरेको पनि उल्लेख गरेको छ ।
“हडताल अन्त्य गर्ने कि नगर्ने भन्ने विषयमा ट्रेम्ब्लेको निर्णय ‘स्वार्थको द्वन्द्वको लगभग अकल्पनीय प्रदर्शन’ थियो,” युनियनले आफ्नो फेसबुक पेजमा गरेको पोस्टमा उल्लेख गरेको छ।
क्यानडाको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीले दैनिक करिब एक लाख ३० हजार यात्रुहरूलाई सेवा दिन्छ भने यसले विश्वका विभिन्न १८० सहरहरूमा सीधा उडान गर्दछ।