काठमाडौँ / सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। साइबर ब्युरोको अनुरोधमा अदालतले पक्राउको अनुमति दिएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
“उहाँविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विवरण भने हाल अनुसन्धानकै चरणमा छन्” उनले भने । उजुरी कसले, के आरोपमा दर्ता गराएको भन्नेबारे प्रहरीले खुलाएको छैन।
पाठकले आफ्नो युट्युब कार्यक्रम ‘टफ टक’ अन्तर्गत ‘टफ एक्स्प्लेनर’ मा करिब तीन हप्ता अघि ‘हिल्टन होटल’को शेयर खरिदबिक्रीसँग सम्बन्धित रिपोर्ट प्रसारण गरेका थिए। उक्त सामग्रीमा जयवीरको सम्पत्तिका विषयमा पनि प्रश्न उठाइएको थियो।
त्यसमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको नाम जोड्दै, दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म फैलिएको रियल स्टेट व्यवसाय र नक्शालस्थित शंकर ग्रुपको मुख्य लगानी रहेको हिल्टन होटलमा उनको संलग्नता रहेको दाबी गरेका थिए।
पाठकले होटल शंकर ग्रुपअन्तर्गत रहेको उक्त होटल जयवीरले व्यापारी दीपक भट्ट र होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवालसँग मिलेर खरिद गरेको आरोप लगाएका थिए।
साथै, जयवीरले आफ्ना बुवा प्रधानमन्त्री भएको बेला डायपर र सेनिटरी प्याडमा कर छुट दिने निर्णय गराएकोसमेत उल्लेख गरिएको थियो।
त्यसपछि शंकर ग्रुपले वैशाख २१ गते विज्ञप्ति जारी गर्दै समाचारलाई असत्य र भ्रामक भनेको थियो। साथै, कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिएको थियो।
यिनै विषयलाई लिएर साइबर अपराध अन्तर्गत उजुरी परेको र त्यसकै आधारमा पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले प्रसारण सामग्रीलाई ‘कपोलकल्पित’ भन्दै अनुसन्धानको दायरामा ल्याउनलेसमेत उल्लेख गरेको छ ।