काठमाडौं/ नेपालमा आँखा स्वास्थ्यको क्षेत्रमा पहिलो पटक विश्वस्तरको डिजिटल तालिम संचालन हुने भएको छ।
नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनबीच नेपाललाई आँखा उपचारसम्बन्धी डिजिटल तालिम हबका रूपमा विकास गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरी दक्ष जनशक्ति उत्पादन गरिनेछ। नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले तालिम विदेश गएर लिन नसक्ने, आर्थिक, भाषागत वा समयको अभाव भएका स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी यो परियोजना अगाडि बढाइएको जानकारी दिए।
अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाइरेक्टर डा. ऋषिराज बोराहले नेपालले आँखा उपचारमा गरेको प्रगति विश्वमै उदाहरणीय भएको उल्लेख गर्दै, “अब नेपालमै विश्वस्तरिय क्षमतावान तालिम सञ्चालन गर्न यो सहकार्य प्रारम्भ गरिएको हो,” भने।
अत्याधुनिक प्रविधि प्रयोग
परियोजना अन्तर्गत भौतिक रूपमा उपस्थित भएर वा ब्लेन्डेड लर्निङ एप्रोचमार्फत सहभागिहरूले आँखा उपचारसम्बन्धी विभिन्न विधामा तालिम लिन सक्नेछन्। तालिममा मोतिबिन्दु, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, जलबिन्दु, अप्ट्रोमेट्री, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन, वेट ल्याब व्यवस्थापनजस्ता क्षेत्र समेटिनेछन्। साथै, हाई(टेक रिमोट सर्जिकल किट प्रयोग हुने अत्याधुनिक प्रविधिको प्रयोग गरिनेछ।
अर्विसको साइबर साइट प्रविधिमार्फत सीएमई र अस्पतालमा आधारित तालिमहरू पनि नियमित रूपमा सञ्चालन गरिनेछन्।
सहभागीहरूको पहुँच
यो परियोजना अन्तर्गत नेपालभरिका आँखा अस्पतालहरू, मेडिकल कलेज, निजी आँखा अस्पतालहरू, स्वास्थ्य सेवा प्रतिष्ठानहरू तथा सरकारी संस्थाहरूमा कार्यरत जनशक्ति मात्र होइन, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाका जनशक्तिहरू समेत सहभागी हुन सक्नेछन्। तालिमको सहजीकरण सम्बन्धित क्षेत्रका ख्यातिप्राप्त विषयविज्ञहरूमार्फत गराइनेछ।
संघका कार्यकारी निर्देशक डा। शैलेश कुमार मिश्रका अनुसार हाल बिराटनगर आँखा अस्पतालमा आवश्यक भौतिक पूर्वाधार, सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल किट जडान भई तालिम प्रारम्भ भइसकेको छ। आगामी चरणमा भैरहवास्थित श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत परियोजना विस्तार गरिनेछ।
तालिमको स्वरूप र प्रभाव
लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपालमै पहिलो पटक यस किसिमको तालिम आयोजना हुन लागेको बताए। संघका कार्यक्रम व्यवस्थापक रञ्जन शाहका अनुसार सुरुवातमा नेपालका स्वास्थ्यकर्मीलाई लक्षित गरिने भए पनि अर्को वर्षदेखि विदेशी सहभागीका लागि पनि तालिम खुला गरिनेछ।
तालिम कार्यक्रमको अवधि १ हप्ता देखि २ वर्षसम्मका विभिन्न स्वरूपमा उपलब्ध हुनेछ।
नेत्रज्योति संघको सेवा दायरा
संघ स्थापना देखी सन् २०२४ को अन्त्यसम्म २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत करिब ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई सेवा दिइसकिएको छ भने ५३ लाख ९२ हजार २२४ जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ।
यस परियोजनालाई नेपालमा मात्र होइन, विश्वभर आँखा उपचारपछि निको हुने अन्धोपनाको निवारणमा एक ऐतिहासिक कोशेढुंगा मानिएको छ।