काठमाडौँ / साताको चौथो कारोबार दिन बुधबार पनि नेप्से परिसूचक निरन्तर वृद्धि हुँदै करिब २७ सय बिन्दु नजिक पुगेको छ । मङ्गलबार २८.९१ अङ्कले बढेर २६६०.३९ अङ्कमा पुगेर रोकिएको नेप्से यसदिन ३४.४२ अङ्कले बढेर २६९४.८२ अङ्कमा पुगेर रोकिएको हो ।
नेप्सेको वृद्धिसँगै आज रकममा पनि वृद्धि भएको छ । आज एकै दिनमा साढे ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कुल ३१७ स्टकको ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
मङ्गलबार ३०९ स्टकको ७ अर्ब ३ करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर मात्र खरिद बिक्री भएको थियो ।
यसदिन सेन्सेटिभ इन्डेक्स आज ५.५२ अङ्कले बढेको छ । फ्लोट इण्डेक्स पनि २.५६ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.०९ अङ्कले बढेको छ ।
बुधबार कारोबारमा आएका सबै परिसूचकमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी जीवन बिमा कम्पनीको परिसूचक २.८३ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा कम्पनीको २.५१ प्रतिशत, विकास बैंक २.३१ प्रतिशत, बैंकिङ समूह १.३६ प्रतिशत, वित्त समूह १.९९ प्रतिशत, व्यापार समूह १.७६ प्रतिशतले बढेको छ ।
यसैगरी, होटल्स तथा पर्यटन समूह ०.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६९ प्रतिशत, लघुवित्त समूह ०.५६ प्रतिशत, म्युचुल फण्ड ०.०६ प्रतिशत, निर्जीवन बिमा २.५१ प्रतिशत र अन्य समूह ०.९१ प्रतिशतले बृद्धि भएको छ ।
यसदिन ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो पावर, नेपाल इन्स्योरेन्स कोअपरेटिभ लिमिटेड र गुराँस लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य १३७.८२ रुपैयाँले बढेर १५१६.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । खानीखोला हाइड्रो पावरको सेयर मूल्य ३९.३० रुपैयाँले बढेर ४३२.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यसैगरी, गुराँस लघुवित्तको सेयर मूल्य पनि ५७.४४ रुपैयाँले बढेर ६४२.३१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज धेरै कमाउनेमा सिन्धु विकास बैंक, कर्पोटे विकास बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।
बुधबार साहस उर्जा लिमिटेड, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्टक्चर र विकास बैंक नाग्दी ग्रुप पावर कम्पनी र बरुण हाइड्रो पावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
यसदिन सबैभन्दा धेरै घाटा व्यहोर्नेमा विन नेपाल लघुवित्त, युनिर्भसल पावर कम्पनी, सिटिजन्स सुपर म्युचुअल फण्ड रहेका छन् ।