म्याग्दी / बेनी–जोमसोम-कोरला सडक योजनाअन्तर्गत राहुघाट-तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानी नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न २०७४ सालमा रु ६६ करोडमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
निर्माण कम्पनीका अनुसार राहुपारे-बैसरी-कुनौटा-बेगखोला-कालीओडार-तिप्ल्याङ-महभिर-भिरकाटे-घार बैसरी- रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र पूरा भएको छ ।
सडकलाई ११ मिटर फराकिलो बनाएर पानीको निकासका निम्ति नाली र पर्खाललगायत संरचना तयार भएपछि कालोपत्र गरिएको हो ।
४३५ किलोमिटर लामो कालीगण्डकी करिडोर पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङको कोरला पुग्न दुई लेनको २०२ किलोमिटर सडक आर्थिक वर्ष २०७३/७४ देखि कालोपत्र गर्न सुरु भएको हो ।
हालसम्म यसको भौतिक प्रगति ८५ प्रतिशत भएको छ ।