images
Logo
images

कृत्रिम गर्भाधानका लागि मुर्रा राँगाको वीर्य सङ्कलन

कृत्रिम गर्भाधानका लागि मुर्रा राँगाको वीर्य सङ्कलन

शनिवार, भदौ ८ २०८१
शनिवार, भदौ ८ २०८१
  • कृत्रिम गर्भाधानका लागि मुर्रा राँगाको वीर्य सङ्कलन

    कास्की / भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य सङ्कलन गरी वितरण सुरु भएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहार स्वरूप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो ।

    images
    images

    यहाँ रहेकामध्ये एक वटाबाट वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको उक्त कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदीश पाण्डेले जानकारी दिए । 

    बाँकी राँगाबाट वीर्य सङ्कलनका लागि सिकाइएको चरणमा रहेको अबको दुईदेखि तीन महिनामा सबैबाट सङ्कलन हुने उनले बताए ।

    प्रमुख पशु विकास अधिकृत पाण्डेले भने, “क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन सङ्कलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट सङ्कलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।”

    कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखी ३० हजार डोज सिमेन उत्पादन हुनेछ । हप्तामा सोमबार र बिहीबार वीर्य सङ्कलन हुँदै आएको छ । 

    एक हप्तामा एउटाबाट चार सय डोज जति सङ्कलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताए ।

    “हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ । कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल सङ्कलन गर्छौँ,” उनले भने, “सङ्कलन गर्ने बित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठिक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ ।” 

    कार्यालयले सङ्कलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलब्ध गराउँदै आएको छ।

    राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा. गौतमले बताए।

    कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबिचको सहकार्य अनुरूप नेपालको अनुरोधमा भारतले राँगा उपलब्ध गराएको थियो। 

    भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो।

    पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँको भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो। 

    नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन  नेपालगञ्जमा राखिएको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय