रातो मच्छिन्द्रनाथको भोटो आज देखाइदै, उपत्यकामा सार्वजनिक विदा

रातो मच्छिन्द्रनाथको भोटो आज देखाइदै, उपत्यकामा सार्वजनिक विदा

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • रातो मच्छिन्द्रनाथको भोटो आज देखाइदै, उपत्यकामा सार्वजनिक विदा

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । 

    जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

    भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो ।

    किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

    मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । 

    भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो ।

    त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ । 

    पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । 

    यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । यस अवसरमा सरकारले आइतबारका लागि उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

    सार्वजनिक बिदा परेकोले आइतबार शेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन्। अब सोमबारमात्रै शेयर कारोबार खुल्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com