कोदोबालीमा खुम्रे कीराको समस्या, हुर्कने बेलाको कोदो मर्न थालेपछि चिन्तित किसान

कोदोबालीमा खुम्रे कीराको समस्या, हुर्कने बेलाको कोदो मर्न थालेपछि चिन्तित किसान

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • कोदोबालीमा खुम्रे कीराको समस्या, हुर्कने बेलाको कोदो मर्न थालेपछि चिन्तित किसान

    गलकोट / बागलुङ नगरपालिकाको अधिकांश क्षेत्रमा लगाइएको कोदोबालीमा खुम्रे कीराको समस्या देखिएको छ । खुम्रेकीराका कारण कोदोको डाठ धमाधम सुक्न थालेपछि बागलुङ नगरपालिकाभित्रका किसान चिन्तित बनेका छन् ।

    images
    images

    बागलुङ नगरपालिकाको सिगाना, मालिका, भान्सा, रायडाँडा र सिमलगायत क्षेत्रमा लगाइएको कोदोमा खुम्रे कीराको समस्या देखिएको बागलुङ नगरपालिकाको कृषि शाखाले जनाएको छ । 

    कोदोको जरामा खुम्रे कीरा र डाठमा गबारो देखिएको छ भने धानखेतीमा ढुसीजन्य रोग देखिएपछि अहिले रोग नियन्त्रण, रोकथाम र अनुगमनको कामलाई बागलुङ नगरपालिकाले तीव्रता दिएको छ ।

    बागलुङ नगरपालिका–८ सिगाना, वडा नं ५ मालिका, वडा नं ६ सिमलगायतका स्थानमा खुम्रे कीराको समस्या अत्यधिकरूपमा पाइएको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिए । 

    सङ्क्रमण फैलिएकाले नियन्त्रणका लागि नगरपालिकाले विषादी छर्नका लागि किसानलाई विषदी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिकाको एक दर्जन गाउँमा लगाइएको कोदो खेतीमा खुम्रे कीराको समस्या देखिएको उनको भनाइ छ ।

    “अहिले समस्या भएका किसानको बारीमै पुग्ने, रोग पत्ता लगाउने र विषादी वितरण गर्ने काम भइरहेको छ, खुम्रे कीराको समस्या देखिएको स्थानमा ५० प्रतिशत कोदोको उत्पादन घट्ने देखिएको छ”, शाखा प्रमुख सापकोटाले भने, “अहिले बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनबाट रु ८० हजार बजेट विनियोजन गरेर समस्याग्रस्त क्षेत्रमा विषादी वितरण गर्ने कार्य गरिरहेको छ ।”

    हुर्कने बेलाको कोदो मर्न थालेपछि समस्या भएको बागलुङ –८ सिगानाका किसान चित्रबहादुर कार्कीले बताए । उनले कोदोमा डढेलो लागेजस्तै भएर मरेपछि वडा कार्यालय र नगरपालिकाको कृषि प्राविधिक आएर अनुगमन गरेको जानकारी दिए ।
     
    बागलुङ –७ र वडा नं ११ बाट समेत खुम्रे कीराको समस्या भएको भन्दै अनुगमनका लागि कृषि शाखामा खबर आएको कृषि शाखा प्रमुख सापकोटाले बताए । नगरपालिकाले सूचना प्रकाशन गरी खुम्रे कीराको प्रकोपको समस्या आएमा र आवश्यक रोगथामका लागि विषादी लैजानका लागि कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । 

    बागलुङ –८ सिगानामा मात्रै ६० रोपनी जग्गामा लगाइएको कोदोमा खुम्रे कीरा र गबारोको समस्या र ३० रोपनी जग्गामा लगाइएको धानखेतीमा ढुसी लागेर जरा कुहिने समस्या देखिएको वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिए । 

    यस्तै वडा नं ६ को सिम, भान्सा, लङ्गाउँमा लगाएको कोदोमा खुम्रे कीरा, धानको गुबो मर्ने र सुन्तलामा सेतो ढुसीले पात नष्ट भएर किसान समस्यामा परेको वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए । 

    क्षतिको विवरण वडाले सङ्कलन गरिरहेको र विषादी वितरण गर्न थालिएको केसीको भनाइ छ । लगातारको वर्षाका कारण खुम्रे कीराको समस्या बढी फैलन पाएको कृषि प्राविधिकको भनाइ छ ।

    विषादी छर्कँदा रोग अन्य स्थानमा फैलन नदिन सहयोग पुग्नेछ । हालसम्म तीन सय रोपनी जग्गामा लगाइएको कोदोबाली खुम्रे कीराको समस्याले सखाप भइरहेको छ । खेती गर्नुपूर्व बाँझो जोत्ने काम किसानले नगर्दा खुम्रे कीरा फैलन पाएको प्राविधिकको भनाइ छ ।

    आगमी दिनमा मकै लगाउने सिजनमा माटोमा विषादीको प्रयोग गरेर खुम्रे कीरालाई नियन्त्रण गर्ने गरी किसानलाई सेचत गराइने कृषि शााले जनाएको छ । बागलुङ नगरपालिकाका १४ वटै वडामा खुम्रे कीराको समस्याका कारण कोदोमा समस्या देखिन थालेकाले यसको उत्पादनमा गिरावट आउने देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय