काठमाडौँ / नेपाल-अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीले गत सेप्टेम्बरमा सम्पन्न व्यापार तथा लगानी रूपरेखा सम्झौता परिषद्को बैठकमा गरिएका प्रतिबद्धताहरू तत्काल कार्यान्वयन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै चेम्बरले मन्त्रालयलाई सो आग्रह गरेको हो ।
सो बैठकमा व्यापार र लगानी आकर्षित गर्न विशेष गरी बौद्धिक सम्पत्ति-गहन उद्योगहरूमा प्रभावकारी बौद्धिक सम्पत्ति अधिकार संरक्षण र कार्यान्वयनको महत्वलाई मूख्य कारकको रूपमा जोड दिइएको थियो।
चेम्बरले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुनी र संस्थागत सुधारमा नेपालको बौद्धिक सम्पत्ति कार्यालयभित्र स्थिरता र विश्वसनीयता बढाउन ट्रेडमार्क प्रशासनमा सुधार र प्राविधिक विशेषज्ञताको विकास मार्फत परीक्षण आवश्यक रहेको बताएको छ ।
चेम्बरले लामो समयदेखि बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी मुद्दाहरूमा विभिन्न सेमिनार र कार्यशालाहरू आयोजना गर्दै अन्तर्राष्ट्रिय तथा स्वदेशी कम्पनी ट्रेडमार्क र लेबलहरूको प्रयोग तथा दुरुपयोगको बारेमा व्यापारिक समुदायमा जागरुकता जगाएर बौद्धिक सम्पत्ति अधिकारको बलियो संरक्षणको लागि वकालत गर्दै आएको छ।
“ट्रेडमार्क र नक्कली लेबलहरूको अनुचित प्रयोगले नेपालको छविलाई घरेलु रूपमा मात्र हानि नभई अन्तर्राष्ट्रिय स्तरमा यसको प्रतिष्ठालाई पनि कमजोर बनाउँछ, जसले गर्दा सम्भावित विदेशी लगानी निरुत्साहित हुन्छ”, चेम्बरले विज्ञप्तिमा भनेको छ ।
यसै सम्बन्धमा काठमाडौँ महानगरपालिकाले जारी गरेको गलत ब्राण्डिङ, लेबलिङ र भ्रामक विज्ञापनबारे सूचनाले आफ्नो ध्यानाकर्षण गरेको चेम्बरका महासचिव सञ्जय कुमार अग्रवालले बताए ।
“यस विषयमा काठमाडौँ महानगरपालिकासँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्दछौँ,” उनले भने “सबै सम्बन्धित सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय र स्वदेशी कम्पनी ट्रेडमार्क र लेबलहरूको अनधिकृत प्रयोगबाट टाढा रहन समेत आग्रह गर्दछौँ।”