काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँदै डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको धारणा राखे ।
उनले भने,‘अब हामी सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ । डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएको छ, समयको बचत गरेको छ, स्रोतमा पहुँच पुरयाएको छ र अझ भनौं विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको छ । यसको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुरयाएको छ । डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ ।’
त्यस्तै उनले डिजिटल प्लेटफर्मको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक रहेको पनि बताए । सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेको उनको भनाइ छ ।
‘हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ । सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ । घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन्,’उनले भने ।
नेपाली कांग्रेस डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुरयाई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवद्र्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा रहेको उनले बताए ।