कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको थियो पुल निर्माण तीन वर्षमा सक्नुपर्ने थियो । तर, आज १४ वर्ष वित्यो पक्की पुल अझै बनेन । स्थानिय बासिन्दाको सपना अझै अधुरो छ।
तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण निराश मात्रै छैनन् । वर्षायाममा नदि तर्न सकस हुने गरेको छ । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ ।
सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्दछन् ।
हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उहाँको दैनिकी छ । “पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उनले भने ।
सामान्यतया वर्षायाम बाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर्खासँगै आएको बाढीले काठको पुल बगाएपछि अब डुङ्गामात्रै एक विकल्प बनेको छ ।
नदीपार गर्न हुलाकी सडक प्रयोग गर्ने यात्रीलाई डुङ्गा प्रयोगको प्रतिमोटरसाइकल रु १०० र प्रतिव्यक्ति रु ५० तिर्नुपर्ने बाध्यता छ ।
कमलामा स्थायी पुल अभावको प्रत्यक्ष असर स्वास्थ्य सेवामा पुगेको छ । सिरहा अस्पतालबाट जनकपुर ‘रेफर’ गरिएका बिरामीलाई घुमाउरो बाटो भएर जानुपर्ने बाध्यता छ ।
प्रादेशिक अस्पतालका ‘मेडिकल सुपरिटेन्डेन्ट’ डा सुनिलप्रसाद कुशवाहाका अनुसार पारिपट्टि नदी सिमानाका धनुषावासी बिरामीका लागि नजिक भए पनि उनीहरू जनकपुरसम्म जानुपर्ने बाध्यता छ ।
नदीवारि कोही गम्भीर प्रकृतिका बिरामीका लागि लामो र घुमाउरो बाटोबाट ढिला गरी लैजाँदा बाटैमा मृत्यु हुनसक्ने सम्भावना छ।”
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवका अनुसार पुल नहुँदा पैदलयात्रीले बाँसको फड्के वा डुङ्गाबाट नदीपार गर्नुपर्ने अवस्था छ ।