काठमाडौँ / सूचना प्रविधिको गतिशील संसारमा नयाँ पुस्तालाई अघि बढाउने उद्देश्यसहित, इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमी, काठमाडौँको सहकार्यमा तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा २०२५’ सम्पन्न गरेको छ।
साउन २१ देखि २३ गतेसम्म इस्लिङ्टन कलेज परिसरमा आयोजना गरिएको प्रदर्शनीले नेपाली युवाको प्रविधिमैत्री सोच, सिर्जनशीलता र प्रयोगात्मक सीपलाई उजागर गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले निर्माण गरेका स्वचालित सवारीसाधनका मोडलहरू, रोबोटिक सहायकहरू (जस्तै Project कृषक–Farm Bot, Telepresence Robot) र विभिन्न एनिमेशन अनुभवहरू विशेष आकर्षण बने।
डिजिटल सुरक्षादेखि लिएर कृत्रिम बुद्धिमत्तासम्मका विषयमा अन्तरक्रियात्मक बूथ, प्रत्यक्ष प्रस्तुति र कार्यशालाहरू राखिएका थिए। प्रमुख समन्वयकर्ता अनिशा आचार्यका अनुसार, “फ्युचरामाको उद्देश्य प्रविधिमा रुचि राख्ने युवाहरूलाई प्रयोगात्मक सिकाइको अवसर उपलब्ध गराउनु थियो। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै दिगोपन र उद्यमशीलताको सोच पनि विकास गर्नेछ।”
कार्यक्रमको अन्तिम दिनमा युवामाझ चर्चित ‘कफी रेभ’ पनि आयोजना गरिएको थियो। आयोजकका अनुसार, तीन दिनमा ३,५०० भन्दा बढी युवाले प्रदर्शनी अवलोकन गरेका थिए।
फ्युचरामा २०२५ ले प्रविधिको प्रदर्शन मात्र होइन, दिगोपन, उद्यमशीलता र प्रयोगात्मक शिक्षाको संस्कृति प्रवर्द्धनमा पनि योगदान पुर्याएको आयोजकहरूले बताएका छन्। आगामी दिनमा यस कार्यक्रमलाई नेपालका अन्य प्रमुख शहरहरूमा विस्तार गरी देशभरका युवामाझ प्रविधिमा सहभागिता र नवीनताको चेतना फैलाउने योजना रहेको छ।