ललितपुर / ललितपुर महानगरपालिका-१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झर्थ्यो । अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुनर्जीवित गरिरहेको छ ।
जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो । यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो ।
विसं २०६० मा विद्यालयले व्यावसायिक परियोजनाअन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण सुरू गरेपछि स्थानीयहरूले पुनः विरोध जनाए । सोही समयमा लगनखेल वातावरण सुधार संस्थाका अध्यक्ष पूर्ण स्थापितको नेतृत्वमा सप्तापातल पोखरीको संरक्षणका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरियो ।
सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको इजलासले विद्यालयले उपभोग गर्दै आएको कित्ता नम्बर ११२ को जग्गा गैरकानुनी रूपमा विद्यालयको नाममा बनाइएको ठहर गर्दै २०७६ साल असार २३ गते मुद्दाको फैसला गर्यो ।
सोह्र वर्षसम्म मुद्दा लडेर पोखरीलाई पुनःस्थापित गराउन सफल भएका सप्तापातल पोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष, ८० वर्षीय पूर्ण स्थापित भन्छन्, “यो निकै ऐतिहासिक पोखरी हो । यसको सम्बन्ध पाटन सहरको पानी र रातो मच्छिन्द्रनाथको भोटो जात्रासँग जोडिएको छ । त्यसकारण यसको पुनर्निर्माण र संरक्षण गर्नु हाम्रो दायित्व हो ।”
सप्तापातल पोखरीसँगै रहेको कमल पोखरी (पलेस्वाँ)को ३० रोपनी जमिन राजदल गण ब्यारेकको कम्पाउण्डभित्र रहेकोले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको पहलमा त्यसलाई मुक्त गरियो ।
महर्जनले बाल्यकालमा सप्तापातल र कमल पोखरीमा पौडी खेलेको सम्झँदै भने, “अब पोखरी स्थापित हुन्छ, फेरि कमल फूल्छ ।”
सप्तापातल पोखरी र रातो मच्छिन्द्रनाथ जात्राको सम्बन्ध
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीबाट सुरु हुने यो जात्रा तिथीअनुसार महिनौँसम्म चल्ने गर्छ ।
पुल्चोकबाट रथारोहण गरिएपछि रातो मच्छिन्द्रनाथ र मीननाथको रथलाई पाटन, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पु¥याइन्छ । त्यसपछि राष्ट्रप्रमुखबाट भोटो देखाउने परम्परा रहेको छ ।
भोटो देखाएपछि जलपानेजु पुजारीहरूले सप्तापातल पोखरी छेउको मान्साहिटीमा पूजाआजा गर्छन् ।
त्यसपछि छेउमै रहेको बुटुकभैरव मन्दिरमा एक जोडी भँगेरा छाड्ने चलन छ । मान्यताअनुसार ती भँगेराले रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा सम्पन्न भएको सन्देश स्वर्गका राजा इन्द्रसम्म पुर्याउँछन् ।
त्यसैगरी, सप्तापातल पोखरीमा दुईवटा माछा छाड्ने परम्परा पनि रहिआएको छ, जसले जात्राको समापनको सन्देश पातालका राजा कर्कोट नागराजासम्म पुर्याउने विश्वास गरिन्छ ।
पोखरीमा वर्षौंदेखि पानी नहुँदा परम्पराअनुसार खाल्डो खनेर माछा छाड्नुपर्ने बाध्यता थियो । यसैले पुजारीहरू विधिपूर्वक माछा छोड्न पाएका थिएनन् ।
काठमाडौँ उपत्यकाको यो ऐतिहासिक जात्रा सप्तापातलबाट जोडी भँगेरा उडाएपछि र माछा छोडेपछि औपचारिक रूपमा समापन भएको मानिन्छ । त्यति मात्र होइन, पाटनस्थित ढुङ्गेधारामा पानी झर्न पनि सप्तापातल पोखरीको महत्त्वपूर्ण भूमिका रहेको ललितपुर महानगरपालिका प्रमुख महर्जन बताउछन् ।
कस्तो बन्दैछ सप्तापातल पोखरी ?
पोखरीलाई परम्परागत शैलीमा पुनर्निर्माण गरिँदैछ । सप्तापातल र कमल पोखरीको पुनर्निर्माण गर्दा कूल लागत रु. १५ करोडसम्म लाग्न सक्ने पुनर्निर्माण उपभोक्ता समितिका सदस्य किरणकुमार स्थापित बताउछन्।
हालसम्म करिब रु. ८ करोड खर्च भइसकेको छ । अब केही हप्ताभित्र पोखरीमा पानी हाल्ने तयारी भइरहेको र पूर्ण रूपमा सम्पन्न हुन अझै एक वर्ष लाग्ने बताइएको छ ।
दश फिट गहिराइको पोखरीमा इँटा बिच्छ्याइएको छ र चुना, सुर्की, कालो माटो, बालुवा र ढुङ्गा मात्र प्रयोग गरिएको छ । इञ्जिनियर राकेश महर्जनका अनुसार पोखरी जीवमैत्री स्वरूपमा निर्माण गरिएको हो ।
धेरै पोखरीहरू खाल्डोजस्तो हुने भएकाले जैविक प्राणीहरू बाहिर निस्कन सक्दैनन्, तर यस पोखरीमा भने विभिन्न प्रजातिका किरा, भ्यागुताजस्ता जीवहरू माथि आउन सक्ने व्यवस्था गरिएको छ ।
उनीहरूको सुरक्षाका लागि मानव आवतजावत नहुने छुट्टै क्षेत्रसमेत बनाइएको छ । पोखरीमा ढुङ्गेधारामा पानी झार्न सिमेन्ट प्रयोग गरिएको छैन । जैविक प्राणीका लागि कङ्क्रिटविहीन संरचना बनाइएकाले वातावरणमैत्री रहनेछ ।
पोखरीको चारैतिर पुल्चोकमा जस्तै फलामको बार लगाइएको छ, जसबाट बाहिरबाट पोखरीको दृश्य सजिलै अवलोकन गर्न सकिन्छ ।
पुनर्निर्माणपछिका सांस्कृतिक पर्वहरू यथावत् रूपमा सञ्चालन गरिनेछन् । आगन्तुकहरू पोखरी वरपर मौलिक शैलीमा निर्माण गरिने पाटीहरू (फल्चा) मा बसेर आराम गर्न र दृश्यावलोकन गर्न सक्नेछन् ।
पोखरीमा पानी सञ्चित गर्न राजकुलोमार्फत टीकाभैरवबाट पानी ल्याउने योजना अगाडि बढाइएको छ । इञ्जिनियर प्रतीप पौडेलका अनुसार सप्तापातलदेखि सुनकोटीसम्मको करिब तीन किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।
ललितपुर महानगरपालिकाभित्रको काम चालु आवभित्र सकिने र माथिल्लो करिब आठ किलोमिटर खण्डको काम सम्पन्न हुन केही वर्ष लाग्ने बताइएको छ ।