काठमाडौँ / यो साता नेप्से परिसूचक २.४४ प्रतिशतले घटेर २८५० विन्दुमा झरेको छ, जबकि गत साता २.०१ प्रतिशतले घटेर २९२२ मा झरेको थियो । पाँच दिनको कारोबारमा तीन दिन बजार घट्दा दुई दिन मात्र सामान्य वृद्धि देखिएको हो ।
आइतबार बजार ६३.७३ अङ्कले घट्दा, सोमबार १६.४६ अङ्कले बढ्यो, मंगलबार ४१.३५ अङ्क र बुधबार १.९४ अङ्कले बजार घटेको थियो । त्यसैगरी, बिहीबार भने १८.३० अङ्कले बजार उकालो लागेको छ ।
यससँगै यो साता समग्र कारोबार रकम पनि घटेको छ । साताको सुरुवातमा १३ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार हुँदा अन्तिम दिनसम्म ८ अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत साता ९६ अर्ब ८९ करोड ७९ लाख रुपैयाँ बराबरको २१ करोड ७८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ४९ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको १२ करोड ९६ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ ।
यो साता सबैभन्दा बढी लाभ माइक्रोफाइनान्स समूहका लगानीकर्ताले पाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले १८.२६ प्रतिशत नाफा कमाए भने अन्य उल्लेखनीय कमाउने कम्पनीहरूमा सिक्लेस हाइड्रोपावर (१४.२६ प्रतिशत), विन नेपाल लघुवित्त (१४.०४ प्रतिशत), महुली लघुवित्त (१४.०४ प्रतिशत) र लिबर्टी इनर्जी (११.१७ प्रतिशत) रहेका छन् ।