काठमाडौँ / कुमारी बैंक लिमिटेडको नाफामा उछाल देखिएको छ । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा ४६ लाख रुपैयाँ मात्रै नाफा गरेको यो बैंकले गत आर्थिक बर्ष २०८१/०८२ मा २ अर्ब ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको हो ।
यस नाफा वृद्धिको प्रमुख कारण भने नेपाल राष्ट्र बैंकबाट प्राप्त भएको सहुलियत हो, जसअनुसार प्रोभिजनिङ रकम घटाइएको छ। प्रोभिजनिङको भार कम भएपछि सञ्चालन नाफामा उल्लेखनीय वृद्धि भएको हो।
गत वर्ष बैंकले प्रकाशित गरेको विवरण अनुसार, २०८१ सालको चौथो त्रैमासमा खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो। तर, हाल प्रकाशित विवरणमा भने सोही अवधिको नाफा मात्र ४६ लाख रुपैयाँ देखाइएको छ। यसरी अघिल्लो वर्षको नाफा अत्यधिक कम देखाइएपछि यो वर्षको नाफा प्रतिशतमा उच्च वृद्धि देखिएको हो।
बैंकको इम्पेयरमेन्ट चार्जमा पनि ठुलो परिवर्तन देखिएको छ। गत वर्षको विवरणमा २०८१ सालको चौथो त्रैमाससम्मको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५६ करोड रुपैयाँ रहेको उल्लेख गरिएको थियो। तर, हाल प्रकाशित विवरणमा सोही अवधिको इम्पेयरमेन्ट चार्ज ६ अर्ब ८४ करोड रुपैयाँ पुगेको देखिन्छ।
इम्पेयरमेन्ट चार्जमा भएको यस परिवर्तनले अघिल्लो वर्षको नाफामा कटौती गरी देखाइएको र त्यसको तुलनामा अहिलेको नाफा बढी देखिएको बुझिन्छ।
बैंकको ब्याज आम्दानी ५.९५ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यद्यपि, बैंकको वितरणयोग्य नाफा भने २ अर्ब ७९ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।
नाफासँग बैंकको प्रतिसेयर आम्दानी पनि २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ। यसैगरी खराब कर्जा अनुपात ५.९६ प्रतिशत रहेकोमा बढेर ६.४२ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको पीई रेसियो २७.२३ र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा रहेको छ ।