ललितपुर / द समिट होटल एन्ड रेसिडेन्सेसका लगानीकर्ताले आफूलाई क्षतिपूर्ति दिन आनाकानी गरेको होटल होटल ग्रिनविच भिलेजले गुनासो गरेको छ ।
ललितपुरको बखुण्डोलमा द समिट होटलले १६ तले अपार्टमेन्ट निर्माणका लागि आधारभूत आवश्यक कागजात र नक्सा पास नगरीकन विनासावधानी गहिरो खाडल खन्दा होटल ग्रिनविच लगायत वरपरका आवासीय घरहरुमा क्षति पुगेको थियो । समिटको १६ तले भवनको जगको लागि खाडल खन्दा २०७९ चैत २४ गते मध्यरातमा वरपरको जमिन भासिएको थियो ।
जमिन भासिँदा त्यहाँ रहेका दुईवटा घर पूर्ण रुपमा भत्किएका थिए भने ग्रिनविच भिलेज होटल सहित ६ वटा भवनमा बस्नै नमिल्ने गरी क्षति भयो थियो ।
विज्ञहरुले दक्ष प्राविधिकको रेखदेखविना नै नक्सा पास, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) जस्ता भवन निर्माणका आधारभूत कानुनी आवश्यकता नै पूरा नगरी जग खन्दा पूर्वतर्फ कमजोर सेडवाल बनाएकोले गर्दा उक्त दुर्घटना भएको बताएका छन् ।
यसअघि छिमेकीको संरचनामा भएको क्षतिको परिपूरण नगरी निर्माण कार्य अघि बढाउन नसकिने भएपछि समिटका लगानीकर्ताले पीडितलाई क्षतिपूर्ति गर्ने सहमति गरेका थिए ।
समिट र पीडितबीच आवासीय भवनका घरधनीलाई गुमेको घरभाडा र व्यवसायीलाई गुमेको नाफा बराबर रकम मासिक रुपमा उपलब्ध गराउने सहमति समेत भएको थियो भने नासिएको सम्पत्तिको हकमा प्राविधिकबाट मूल्यांकन गराई मूल्याङ्कन अनुसारको रकम पीडितलाई उपलब्ध गराउने सहमति भएको थियो ।
त्यस्तै, समिट होटल अपार्टमेन्ट निर्माणको क्रममा देखिएको समस्या तथा छिमेकीका घरहरुमा पुगेको क्षति सम्बन्धि छानविन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न २०८० बैशाख ३ गते मन्त्रीस्तरीयबाट भएको निर्णय अनुसार गठित समितले बैशाख २० गते शहरी विकास तथा भवन निर्माण विभाग समक्ष अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो ।
तर, सो सहमतिको बर्खिलाफ समिट होटलले भने पछिल्लो समय गुमेको नाफाबापतको रकम भुक्तानी गर्न छाडेको ग्रिनविचका सञ्चालकको गुनासो छ । ग्रिनविचका अनुसार २०८१ मंसिरयता समिटले होटलसँग गरेको सहमति अनुसार दिदै आएको, गुमेको नाफा बापतको बाँकी रकम भुक्तानी भएको छैन ।
दुवै पक्षको सहमतिमा नियुक्त परामर्शदाता कम्पनी अर्थक्वेक रेसिस्टेन्स टेक्नोलोजीले सम्पत्ति क्षतिको मूल्याङ्कन गरी प्रतिवेदन बुझाइसकेको छ ।प्रतिवेदनअनुसार भवनमा ठुलो क्षति हुँदा ग्रीनविच होटललाई ठुलो धनरासी बराबर क्षति भएको छ ।
ग्रिनविचले भुक्तानी तालिका टुंग्याएर समिटका सञ्चालकहरूसँग सम्झौता गर्न खोजेको छ ।
“तर समिटका सञ्चालकहरु यस विषयमा छलफल गर्न बोलाउँदा आउनै मान्दैनन् । प्रतिनिधि पठाइहाले पनि सहमतिमा पुग्दैनन् र लम्ब्याई राख्ने प्रवृतिले ग्रीनविच परिसानीमा देखिन्छ । हामी माइन्युट गरौँ भन्छौँ, उनीहरू अनेक बहाना गरेर मान्दैनन्,”ग्रिनविचका सञ्चालकले भने, “समिटसँगको सम्झौता अनुसार क्षतिपूर्ति वापत पाउनु पर्ने सम्पुर्ण रकम पाएपछि नयाँ भवन बनाएर ग्रिनविचलाई पुनर्जीवन दिने योजना छ । समिट होटल एण्ड रेसिडेन्सले ग्रीनविच भिलेज होटललाई पेलेर जान खोजे जस्तो देखिएको छ । नियमनकारी निकायले कानुनविपरीतको निर्माण कार्य रोकेर क्षतिपूर्तिका लागि समयमा नै दबाब दिएको भए यो समस्या सुल्झिसक्थ्यो ।”
द समिट होटलको उक्त अपार्टमेन्ट व्यवसायी–सुवर्णकृष्ण श्रेष्ठ, विनोद चौधरीका छोरा राहुल चौधरी अध्यक्ष रहेको, निर्वाण चौधरी (चौधरी ग्रुप) र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको एनई ग्रुपको लगानीमा निर्माण सुरु भएको थियो ।