काठमाडौँ / माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भिजेको गीत -‘असार मास’ रेकर्ड गरिएको छ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौँको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
गीतमा लोकप्रिय गायिका स्मिता प्रधानले स्वर भरेकी छन् भने सञ्चारकर्मी एवम् गीतकार गीता अधिकारी शब्द सिर्जना र राजु कार्कीको संगीत संयोजन रहेको छ।
गीत रेकर्डपछि गायिका प्रधानले उत्साहपूर्वक भनिन्, “यो गीत गाउनु मात्र नभई महसुस गर्नु थियो । यसमा माटोको गन्ध, किसानको माया र प्रकृतिको पुकार सुन्न सकिन्छ ।”
सेवा रेकर्डिङ स्टुडियोका निर्देशक तथा गायक अशोक मुकारुङले गीतको प्रशंसा गर्दै भने, “जीवन शर्मासँगको सहकार्यबाट सधैँ विशेष सिर्जना जन्मन्छ । ‘असार मास’ पनि त्यस्तै सशक्त गीत बनेको छ ।”
जीवन शर्मा, जो सिक्किममा रहेर साहित्य, कला र संगीतका विविध विधामा कलम चलाइरहेका छन् । उनका ‘आउ हामी प्रेम गरौं’, ‘डाँडापाखा हरियाली’, ‘फूल जस्तै’, ‘जतै मान्छे’ जस्ता दुई दर्जनभन्दा बढी गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् । पाँच दर्जनभन्दा धेरै गीतमा उनले संगीत भरेका छन् ।
गीतकार गीता अधिकारीका एक दर्जन भन्दा बढी गीत श्रोता÷दर्शकमाझ आएका छन् ।
“एउटा माटो, प्रकृति र किसानका गीत ल्याउने मन थियो, संगीतकार जीवनजीमार्फत यो आउन सफल हुँदैछ”, गीतकार अधिकारीले भने, “गीतमा कृषकको मिहिनेत, प्रकृतिको लय र ‘असार’को रसपान मिसिएको छ ।”
गायिका स्मिता प्रधानका अनुसार, गीत चाँडै नै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
‘असार मास’ केवल गीत नभएर, माटोको स्पन्दन, किसानको जीवनगाथा, अनि प्रकृतिप्रतिको सुमधुर माया रहेको आफूले पाएको गायिका प्रधानले बताइन् ।
भारत कालिम्पोङकी स्मिता प्रधान एक प्रतिभाशाली गायिका हुन् । जसले ‘द भ्वाइस अफ नेपाल सिजन–५’ मा भाग लिएर दर्शकहरूको ध्यान आकर्षित गर्न सफल भएकी छन् ।
विभिन्न चरण पार गर्दै नकआउट राउन्डमा पुगेर आउट भएकी उनले कोचहरूको र दर्शकहरूको मन जितेकी थिइन्। बिजेता हुन नसके पनि उनी गायन क्षत्रमा व्यस्त छन् ।